Ads

वडा कार्यालयबाट ५३ लाख हराएपछि कर्मचारीमाथि भ्रष्टाचार मुद्दा


काठमाडौं । नुवाकोट जिल्लाको पञ्चकन्या गाउँपालिका–२ को वडा कार्यालयबाट ५३ लाख रुपैयाँ गायब भएको घटनामा तीन जना कर्मचारीमाथि अख्तियार अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

मुद्दा दायर भएका कर्मचारीमा पञ्चकन्या गाउँपालिका–२ का वडा सचिव सरिता राउत, कार्यालय सहायक रामकुमार गिरी र कार्यालय सहयोगी निलप्रसाद मिश्रविरुद्ध मुद्दा दायर गरेको हो ।

तर वडा अध्यक्ष ध्रुवप्रसाद मिश्रले भने उन्मुक्ति पाएका छन् । तर सो घटनामा वडाध्यक्ष मिश्रमाथि पनि निष्पक्ष छानबिनको माग हुँदै आएको थियो ।

गत चैत २४ गते रातको समयमा सामाजिक सुरक्षा भत्ता वितरण गर्न भनी ल्याएको रकम र विभिन्न शीर्षकबाट उठेको राजस्व रकम सो वडा कार्यालयबाट हराएको बताइएको थियो ।

उक्त घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरी पाउँ भन्ने उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यसबारे छानबिन गरेको थियो । आयोगका अनुसार वडा सचिव सरिता राउतले र कार्यालय सहायक रामकुमार गिरीले रकम बैंकबाट लिएर आएको र सो रकमलाई वडा सचिव राउत, कार्यालय सहायक गिरी र कार्यालय सहयोगी मिश्रको रोहवरमा कार्यालयकै दराजमा राखिएको पाइएको अख्तियारले जनाएको छ ।

दराजको सेफको चाबी सरिता राउत र रामकुमार गिरीसँग रहेको एवं ढोकाको चाबी निलप्रसाद मिश्रले बोकेको साथै घटनापश्चात कुनै पनि चाबी लगाएको ठाँउमा तोडफोड भएको नदेखिएको, सुरक्षा निकायलाई जानकारी नगराएको साथै सुरक्षाको लागि समन्वयसमेत नगरेको देखिएको आयोगको भनाइ छ । उनीहरुले वडा कार्यालयमा रकम राखी घर गएको तर, भोलिपल्ट सो रकम कार्यालयको दराजबाट गायब भएको हुँदा सचिव सरिता राउत, कार्यालय सहायक रामकुमार गिरी र कार्यालय सहयोगी निलप्रसाद मिश्रले नेपाल सरकारको सम्पत्तिको बदनियत गरी हानीनोक्सानी गरेको ठहरसहित आयोगले उनीहरुविरुद्ध मुद्दा दायर गरेको हो ।

आयोगले विशेष अदालतमा दायर गरेको मुद्दामा ५३ लाख एक हजार आठ सय ५६ रुपैयाँ बिगो कायम गरी उक्त रकम तीनै जनाबाट असुल उपर गराउन तथा कानुन अनुसार थप सजाय माग गरिएको छ ।

Ads

सम्बन्धित पोष्टहरू