Ads

आज विभिन्न कार्यक्रम गरी ‘आठौँ राष्ट्रिय पत्रकारिता दिवस’ मनाइँदै


काठमाडौँ । आज विभिन्न कार्यक्रम गरी ‘आठौँ राष्ट्रिय पत्रकारिता दिवस’ मनाइँदैछ। नेपालमा गोरखापत्र प्रकाशन भएको दिनको अवसर पारेर वैशाख २४ गते अर्थात् आजको दिनलाई राष्ट्रिय पत्रकारिता दिवस मनाउने निर्णय गरिएको थियो ।सरकारले २०७३ सालमा पत्रकारिता दिवस राष्ट्रियरुपमै मनाउन मान्यता दिएपछि यो दिवस वैशाख २४ गते मनाउन थालिएको हो। विसं १९५८ वैशाख २४ गतेदेखि साप्ताहिकरूपमा गोरखापत्रको प्रकाशन सुरु भएको हो।

‘पत्रकारितामा खोज र नवीनता : लोकतान्त्रिक गणतन्त्रको सफलता’ भन्ने मूल नाराका साथ पत्रकारिता दिवस मनाउन थालिएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ। पत्रकारिता दिवसको अवसरमा देशभर विभिन्न कार्यक्रम गरिनेछ। सञ्चार तथा सूचना प्रविधि मन्त्रलायको आयोजनामा आइतबार दिउँसो १ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा विशेष समारोह आयोजना गरिने भएको छ।

सो समारोहमा नेपालको पत्रकारिताका क्षेत्रमा विशिष्ट योगदान पुर्याउने दुई जनालाई वरिष्ठ पत्रकार सम्मान र छ जनालाई राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गरिनेछ। पत्रकारिता दिवसका अवसरमा सरकारले निष्पक्ष, उत्तरदायी, व्यवसायिक, खोजमूलक र विश्लेषणात्मक पत्रकारिताका माध्यमबाट राष्ट्रिय हितको प्रवर्द्धन र जनतालाई सुसूचित गराउन योगदान पुर्याएका पत्रकार र आमसञ्चारसम्बन्धी संस्थालाई सम्मान गरिने भएको हो।

समारोहलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सम्बोधन गर्ने कार्यक्रम छ। गोरखापत्र संस्थानले ‘गोरखापत्र’ प्रकाशनको १२३औँ वर्ष प्रवेश तथा संस्थानको ६१औँ वार्षिकोत्सवका उपलक्ष्यमा प्रधानमन्त्रीको उपस्थितीमा कार्यक्रमको आयोजना
गर्ने गरेको छ।

Ads

सम्बन्धित पोष्टहरू