Ads

रोल्पामा तीनहजारभन्दा बढी खरका छाना हटाइए


रोल्पा । रोल्पाका तीन हजारभन्दा बढी घरमा खरको छाना हटाएर जस्तापाता लगाइएको छ । जिल्लाका तीन हजार १६९ घरधुरीमा जस्तापाता राखिएको हो । यसका लागि संघीय र स्थानीय सरकारले १५ करोड ६७ लाख १३ हजार खर्च गरिसकेका छन् । खरको छानो हटाएसँगै वर्षाको समयमा पानी चुहिने र सुक्खा मौसममा आगलागी हुने समस्याबाट मुक्त भएका छन् ।

रोल्पा नगरपालिकामा एक हजार २३८ वटा घरमा फुसको छाना भएकामा हालसम्म ६७८ घरको छाना फेरिएको छ । नागरिक सुरक्षित आवास कार्यक्रमबाट २३२ र फुसको छाना विस्थापित कार्यक्रमबाट ४४६ घरको छाना फेरिएको हो ।

५६० घरमा फुसको छाना फेर्न बाँकी रहेको रोल्पा नगरपालिकाका योजना अधिकृत सुशील थापाले बताए । यो कार्यक्रमका लागि संघीय सरकार र नगरपालिकाको तीन करोड १२ लाख खर्च भइसकेको छ । संघीय सरकारको नागरिक सुरक्षित आवास कार्यक्रम र स्थानीय सरकारको फुसको छानो विस्थापन कार्यक्रम सुरु भएपछि जिल्लाका विपन्न समुदायका धेरैलाई राहत पुगेको छ ।

रुन्टीगढी गाउँपालिकाले फुसको छाना हटाइएको छ । यहाँका फुसको छाना भएका एक हजार ६३१ घरमध्ये हालसम्म एक हजार १२ घरधुरीको छाना फेरिएको गाउँपालिका अध्यक्ष जनक पुनले जानकारी दिए । सो गाउँपालिकामा यस शीर्षकमा संघीय सरकार र स्थानीय तहको पाँच करोड छ लाखभन्दा बढी बजेट खर्च भएको छ ।

त्रिवेणी गाउँपालिकामा टिनको छाना लगाउन छनोट भएका ५१४ मध्ये ३८८ घरको छाना फेरिएको गाउँपालिकाले जानकारी दिएको छ । यसका लागि उसले संघीय सरकार र स्थानीय सरकारको एक करोड ९४ लाख रुपैयाँ खर्च गरेको छ । परिवर्तन गाउँपालिकाले नागरिक सुरक्षित आवास कार्यक्रमअन्तर्गत दुई सय घर छनोट भएका थिए । उसले छनोट भएकामध्ये १६४ घरको छाना फेर्न ५१ लाख ९३ हजार रुपैयाँ दिइसकेको छ ।

गंगादेव गाउँपालिकामा ४४८ घरको छाना फेर्ने कार्यक्रम छ । गाउँपालिकाले यो काममा  एक करोड ६८ लाख खर्च गरिसकेको छ भने चालु आर्थिक वर्षका लागि समेत ५६ लाख बजेट विनियोजन गरेको छ । सुनिल स्मृति गाउँपालिकाले हालसम्म ४०१ घरमा फुसको छानाका साटो टिनको छाना लगाएको छ। संघीय सरकारको सहयोगमा २३६ घर र गाउँपालिकाको कार्यक्रमअन्तर्गत १६५ घरमा टिनको छाना हालिएको हो ।

लुङ्ग्री गाउँपालिकाले नागरिक सुरक्षित आवास कार्यक्रमअन्तर्गत ७० घरमा टिनको छाना लगाएको छ । छनोट भएका ११० घरमध्ये ७० घरमा टिनको छाना लगाइसकिएको छ । बाँकी घरमा पनि टिनको छाना लगाउन सहयोग गर्ने गाउँपालिकाले बताएको छ । थवाङ गाउँपालिकाले नागरिक सुरक्षित आवासअन्तर्गत काठको छानाका सट्टामा टिनको छाना लगाउन छनोट भएका १२१ घरमध्ये ५७ घरको छाना फेरिएको छ ।

फुसको छानाको घरमा पटक–पटक आगलागीको समस्या भोग्ने गरेका थिए । दुई–तीन वर्षको अन्तरालमा छाना फेरिरहनुपर्ने समस्याका साथै पानी चुहिने समस्यासमेत भोग्दै आएका रोल्पालीको अहिले एकैपटक सबै समस्या हल भएको छ । रोल्पामा खर तथा काठले घर छाउने चलन पुरानो हो । थवाङ, सुनछहरी र परिवर्तन गाउँपालिकाका केही वडामा काठले छाना छाउने गर्छन् भने अन्य पालिकामा खरले छाउने गर्छन् । सम्पन्न व्यक्तिले स्लेट र टिनले छाउँछन् । खर र काठले छाएका घरमा पानी चुहिने, आगलागी हुने डर हुने गरेको थियो ।

Ads

सम्बन्धित पोष्टहरू