Ads

एमाले महाधिवेशन-सबै प्रचार डिजिटल,बन्दसत्र सेभेन स्टारमा


काठमाडौं । नेकपा (एमाले)ले १० औं महाधिवेशनको सबै प्रचार कागजविहीन अर्थात् डिजिटल हुने छन् ।

शुक्रबार च्यासलमा आयोजित महाधिवेशनको लोगो सार्वजनिक कार्यक्रममा प्रचार विभाग प्रमुख योगेश भट्टराईले यस पटकको महाधिवेशनमा पोष्टर टाँस्ने र भित्तेलेखन नगरिने बताए।

महाधिवेशन केन्द्रित धेरै प्रचार डिजिटल हुने उनको भनाइ छ । सोसल मिडिया, डिजिटल मिडिया, डिजिटल डिस्प्ले र ठूला होर्डिङ बोर्डमार्फत् गरिने भट्टराईले जानकारी दिए।

त्यस्तै ७ सय ५३ पालिकाहरुमा महाधिवेशन केन्द्रित छलफल, गोष्ठी, अन्तरक्रिया, सेमिनारलगायतका कार्यक्रम आयोजनामा हुनेछन् ।

एमालेको बुद्धिजिवी परिषद्ले काठमाडौं, चितवन र प्रदेशका राजधानी केन्द्रित ठूला अन्तरक्रिया कार्यक्रम पनि गर्ने छ।

त्यस्तै मंसिर ७ गते सबै जिल्ला र प्रमुख नगरहरुमा मोटर साइकल र्याली आयोजना हुने छ।

सबै राजमार्ग र अन्य साहायक मार्गहरुमा स्वागत द्वार राखिने भएको छ ।

यसैगरी नेकपा  (एमाले) को १०औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रको टुङ्गो लागेको छ । सौराहाको बाघमारा चौर वा अन्यत्र होटलका विषयमा छलफलपछि होटल सेभेन स्टार परिसरमा हुने टुङ्गो लागेको हो ।

होटलमा बन्दसत्रका लागि पर्याप्त हल नभएपछि होटल परिसरमा रहेको खुल्ला ठाउँमा डोम निर्माण गरी हलको व्यवस्था गर्न लागिएको छ । महाधिवेशन मूल व्यवस्थापन समितिका सहसंयोजक तथा स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेका अनुसार होटलका हल र परिसरमा निर्माण गरिने डोमलाई महाधिवेशनमा आवश्यकताअनुसार प्रयोग गरिने छ । सो होटलमा एक हजार जना क्षमताको ठूलो एक र साना दुई वटा हलसमेत रहेका छन् । सौराहामा ठूला हल भएको होटलका रूपमा यसलाई चिनिन्छ ।

मङ्सिर १० गते नारायणी नदी किनारमा उद्घाटन सत्र गर्ने यसअघि नै निर्णय भएको छ । बन्दसत्र र नेतृत्व छनोटका काम सौराहाबाट हुनेछ ।

Ads

सम्बन्धित पोष्टहरू