Ads

आज विश्व धुम्रपानरहित दिवस नेपालमा पनि मनाइँदै


काठमाडौं । आज विश्व धुम्रपान तथा सुर्तिरहित दिवस नेपालमा पनि जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ। निकोटिनको लतबाट जोगाउन हरेक वर्ष मे ३१ तारिखमा याे दिवस मनाउने गरिन्छ । धुम्रपानका कारण हुने क्षति न्यूनीकरण र सुर्तिजन्य पदार्थको नियन्त्रण गर्ने उद्देश्यले यो दिवस मनाउन थालिएकाे हाे।

धुवाँ आउने र नआउने सुर्तिजन्य पदार्थबाट निर्मित चुरोट, बिँडी, तमाखु, खैनी, गुट्खा वा पानपरागकाे सेवनले क्यान्सरको जोखिम हुन्छ। विश्व स्वास्थ्य सङ्गठनका सदस्य देशहरुले सन् १९८७ मा विश्व धुम्रपानरहित दिवस मनाउनको लागि सुर्तिजन्य महामारी र यसबाट निम्तिने मृत्यु र रोगप्रति विश्वको ध्यानाकर्षण गराएका थिए।

विश्वमा हरेक ८ सेकेन्डमा एक जनाको सुर्तिजन्य पदार्थ सेवनका कारण ज्यान  जाने गर्छ। विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वका एक अर्ब ३० करोड सेवनकर्तामध्ये ८० प्रतिशत मध्यम आय भएका देशका नागरिक छन् । यसबाट बर्सेनि आठ लाखको ज्यान जाने गरेको छ। सुर्तिजन्य पदार्थ सेवनकै कारण सन् २०३० सम्ममा एक करोडभन्दा धेरैको ज्यान जाने अनुमान छ।

चुरोट, सुर्तिले सेवन गर्नेलाई मात्र नभएर यसको आसपासमा बस्नेलाई पनि असर गर्ने चिकित्सकहरुले बताउने गरेका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार धुम्रपान गर्ने धेरैजसोलाई फोक्सो र मुखको क्यान्सर हुने गर्छ तर पछिल्लो तथ्याङ्कले कलेजोमा पनि असर पर्ने देखाएको छ। नेपालमा पछिल्लो समय सार्वजनिक ठाउँमा धुम्रपान गर्नेलाई कारबाही गर्ने प्रावधान आए पनि यसको प्रभावकारी नियमन र कार्यान्वयन हुन भने सकेको छैन ।

Ads

सम्बन्धित पोष्टहरू