काठमाडौं । निर्वाचन आयोगले आगामी जेठ ४ गते एकै चरणमा स्थानीय तहको निर्वाचन गर्न जोड दिएको छ । एकै चरणमा निर्वाचन हुदा हुने फाइदा र एकै चरणमा निर्वाचन नभएको खण्डमा हुने घाटाबारे पनि आयोगले सरकारको ध्यानाकर्षण गराएको छ । आयोगले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर गराएको परामर्श पत्रमा दुई वा सो भन्दा बढी चरणमा निर्वाचन गर्दा आउन सक्ने समस्या र एकै चरणमा निर्वाचन हुदा हुने फाइदा उल्लेख गरेका छन् ।
आयोगले भनेको छ ‘स्थानीय तहको निर्वाचन एकै चरणमा वा दुई वा दुईभन्दा बढि चरणमा गर्न सकिने कानूनी व्यवस्था भएतापनि देहायका कारणले एकैदिन र एकै चरणमा निर्वाचन गर्न उपयुक्त हुने छ ।’
आयोगले सरकारलाई बुझाएको सुझावमा यस्ता छन् फाइदा
१.निर्वाचन खर्चमा मितव्ययिता हुने
२.सुरक्षा व्यवस्थापनमा सहजता हुने ।
३.समग्र निर्वाचन व्यवस्थापन सजिलो हुने
४.मतदाता शिक्षा सामग्रीहरुमा एकरुपता हुने । निर्वाचन प्रचार प्रसार खर्च कम हुने ।
५. निर्वाचन अनुगमन र पर्यवेक्षण सहज हुने ।
६.अन्तर्राष्ट्रिय पर्यवेक्षणका लागि उपयुक्त वातावरण तयार हुने ।
७.आचारसंहिताको अवधि कम हुने हुँदा अन्य काम प्रभावित नहुने
८.एक ठाउँको निर्वाचन परिणामले अर्को ठाउँको निर्वाचन प्रभावित नपाने ।
दुई वा सोभन्दा बढि चरणमा निर्वाचन गर्दा देहायका समस्याहरु आउन सक्ने
१.स्थानीय तहको चरणमा सम्पन्न भएको निर्वाचनका मत पेटिका दोश्रो चरणको निर्वाचन सम्पन्न नभएसम्म सुरक्षितसाथ राख्न सुरक्षा जोखिम हुने ।
२.मतपेटिका सुरक्षितसाथ राख्न धेरै सुरक्षाकर्मी खटाउनु पर्ने हुँदा दोश्रो चरणको निर्वाचनको निम्ति पर्याप्त सुरक्षाकर्मी जगेडा राख्न नसकिने ।
३.मतगणना नभएसम्म मतपेटिका सुरक्षित साथ राख्नु पर्दा निर्वाचनमा खटिएका सुरक्षाकर्मी तथा कर्मचारीहरुको थप सुविधाका कारण खर्चमा वृद्धि हुने ।
४.पहिलो चरणको निर्वाचन सकिनासाथ मतगणना गर्ने विकल्पमा जांदा यसले दोश्रो चरणको निर्वाचनको परिणामलाई प्रभावित पार्ने हुँदा निर्वाचनको स्वच्छता, विश्वसनीयता र निष्पक्षता माथि नै प्रश्न चिन्ह खडा हुने।
५.लामो समयसम्म निर्वाचनमा अल्झिदा उद्योग, व्यापार व्यवसाय लगायत अर्थतन्त्रमा नकरात्मक प्रभाव पर्न सक्ने ।
प्रतिक्रिया दिनुहोस्