काठमाडौँ । सम्पुर्ण खेलकुद गतिविधि रोकिएपछि सम्बन्धित निकायको ध्यानाकर्षण गराउनका लागी आज(बिहीबार) शान्तिपूर्ण विरोध कार्यक्रम गरिएको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कार्यकारी प्रमुखको रुपमा कार्यसम्पादन गर्ने सदस्य सचिवको विषयमा विवाद भएपछि खेलकुद क्षेत्रलाई प्रभाव परेको र चाडो समाधान गर्न आग्रह गर्दै राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ, नेपाल ओलम्पियन संघ र राखेप कर्मचारी संघले संयुक्त रुपमा आन्दोलनको घोषणा गरेका हुन् ।
केहि राष्ट्रिय संघहरुले खेलकुद कार्यक्रम सञ्चालन गरिरहेपनि सरकारको अनुदान र सहयोगबाट हुने खेलकुदहरु सञ्चालन हुन सकेका छैनन् । सदस्य सचिवको विवाद समाधान नभएसम्म परिषद्को काम नियमित संचालन गर्न माग गर्दै दशरथ रंगशालामा शान्तिपूर्ण विरोधको कार्यक्रम गरिएको हो ।
विरोध कार्यक्रमको नेतृत्व खेलाडी संघका अध्यक्ष दिपक श्रेष्ठ, ओलम्पियन संघका अध्यक्ष दिपक विष्ट र राखेप कर्मचारी संघका अध्यक्ष रञ्जन थापाले गरेका छन् । “कुनै पनि निकायले खेलकुदलाई प्राथमिकतामा राखेको छैन” खेलाडी संघका अध्यक्ष दिपक श्रेष्ठले भने, “अस्तव्यस्त भएको खेलकुद क्षेत्रलाई अन्य विकल्प दिएर भएपनि समाधान गर्नुपर्ने माग सहित सदस्य सचिवको विवादलाई समेत चाडो सुल्झाउनु पर्ने विषयमा सकारात्मक सन्देश प्रवाह गर्ने उद्धेश्यले शान्तीपूर्ण आन्दोलन गरिएको हो ।”
आन्दोलित तीन संघका अनुसार सदस्य सचिवको मुद्धामा ढिलाई हुँदा खेलकुद क्षेत्र अस्तव्यस्त बनेको भन्दै यस मुद्धामा चाँडो निर्णय गर्न अदालतसँग आग्रह समेत गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्