धनुषा । तराई–मधेशका अधिकांश स्थानमा एक सातादेखि तातो हावा चलिरहेको छ । यहाँका अधिकांश भागमा केही दिनयता अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेपछि जनजीवन अस्तव्यस्त बन्दै आएको छ । दिउँसो त घर बाहिर निस्किनै नसकिने अवस्था छ ।
क्षीरेश्वरनाथ नगरपालिका– ५ महेन्द्रनगरकी किसान रामपरी यादव भन्छिन्, “खेतीपातीको काम त बिहान–बेलुका गर्छौँ । विगतमा भन्दा यो वर्ष त साह्रै गर्मी भएजस्तो लाग्छ । पहिला गर्मी हुँदा शीतलमा बस्न ठूलाठूला रुख हुन्थे, अहिले त रूख पनि कहाँ पाउनु ? बुढाले छाता ओड्नुभयो भने म सलको सप्को टाउकोमा हाल्छु, बुढाले टाउकामा फेटा बाँधे म छाता ओड्छु । यो घाम त वर्षौँंदेखि छाता र सप्कोले छल्दै आएका छौँ ।”
मिथिला नगरपालिका–६ ढल्केवर निवासीआरती कुमारी भन्छिन्, “घरबाट निस्किँदा घामबाट जोगिन ‘सनब्लक’ प्रयोग गरेकी थिएँ, पसिनाले सबै गयो । छाताले पनि घाम छेक्दैन । अहिले चर्को घाम छ । एकछिन घाममा बस्दा टाउको दुखेर मर्नु न बाँच्नु हुन्छ । घाम सहनुभन्दा अर्को विकल्प नै के छ र ?”
महेन्द्रनगरका युवा सोनु मण्डलको भनाइ छ, “जसरी जाडोमा चोक चोकमा दाउरा बाल्ने, निःशुल्क चिया बाँड्ने गरिन्छ, त्यस्तै गर्मीमा पनि केही उपाय निकाल्नुपर्छ । गर्मीमा चोक चोकमा पानीको व्यवस्था गर्नुपर्छ । सडकमा पानी छर्कने व्यवस्था गर्न सके केही सहज हुन्थ्यो । स्थानीय सरकारले यसमा ध्यान दिनुपर्छ । अत्यधिक घामबाट बच्ने उपायबारे पनि नागरिकलाई जानकारी दिनुपर्छ ।”
“आजभोलि त असाध्यै गर्मी छ, बिहान बेलुका मात्रै अटो चलाउँछु । दिउँसो त कोही बाहिर निस्कँदैन । दिउँसो अटो चलाउन पनि सकिँदैन । बिहान बेलुका अटो चलाउँदा पनि पसिनाले निथ्रुक्कै भइन्छ । घाम भयो भनेर घरमा बस्न पनि मिल्दैन, बिहान–बेलुकाको छाक टार्न पनि अटो चलाउनै प¥यो,” अटोरिक्सा चालक जगदीश पासवान बताउछन् ।
बटेश्वर गाउँपालिका– ५ शान्तिपुरका घुरन महतो भन्नुहुन्छ, “एकतले घर छ, दिउँसो त तातेर बस्नै नसकिने हुन्छ । सहनै सक्दिनँ, दिनभरि नलको चिसो पानीले नुहाइरहन्छु । गर्मीले परिवारका सदस्यका शरीरभर घमौरा आएका छन् । मलाई पनि अलि अलि घमौरा आएको छ ।”अत्यधिक गर्मीले विगत केही दिनदेखि दैनिक ज्यालादारी गर्ने मजदुरहरूको जनजीवन कष्टकर बनेको छ ।
प्रतिक्रिया दिनुहोस्