काठमाडौं । रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तरराष्ट्रिय महासङ्घ ९आइएफआरसी० को महासचिव तथा प्रमुख कार्यकारी अधिकृत जगन चापागाईंले सङ्कटासन्न समुदायलाई सुरक्षित एवम् उत्थानशील बनाउन एकजुट हुन आह्वान गरेका छन् । उनले भने, “सङ्कटासन्न समुदायलाई सुरक्षित एवम् उत्थानशील बनाउन सबैको सहकार्य र एकता आवश्यक छ । विपद् पूर्वगतिविधि र विपद् पूर्वजानकारीले समुदायलाई सुरक्षित बनाउन सहयोग गर्छ ।
”मङ्गलबारदेखि सुरु भएको तीनदिने पूर्वानुमानसम्बन्धी सातौँ एसिया–प्रशान्त महासागर क्षेत्रीय संवाद मञ्चको बैठकलाई भिडियो सम्बोधन गर्दै महासचिव चापागाईंले जलवायु परिवर्तनले हुन सक्ने विपद्सँग जुध्न समुदायलाई नै सक्षम बनाउनु पर्छ भने । उनले भने, “पूर्वानुमानमा आधारित पूर्वकार्यलाई आइएफआरसीले एक सय ९१ देशमा कार्यान्वयनमा गरिराखेको छ ।” उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सो बैठकको उद्घाटन गरेका थिए । सो अवसरमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी निर्देशक अनिल पोखरेलले प्रकोप हुनुपूर्वका तयारीले समुदायलाई उत्थानशील बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
उनले भने, “ जलवायु परिवर्तनले उत्पन्न गर्न सक्ने एवम् प्राकृतिक रुपमा हुन सक्ने विपद्को जोखिमलाई न्यूनीकरण गर्न आवश्यक नीति सुधारमा प्राधिकरणले जोड दिएको छ ।” नेपाल रेडक्रस सोसाइटीका कार्यकारी निर्देशक उमेश ढकालले पूर्वानुमानमा आधारित पूर्वकार्यलाई सुदृढ बनाउन सकिएमा विपद्बाट हुन सक्ने क्षतिलाई कम गर्न सकिने बताए । उनले भने, “विपद्पूर्व, विपद्का समय तथा विपद् पछिका अवस्थामा नेपाल रेडक्रसले मानवीय सेवाका गतिविधि गरिराखेको छ । ”
आइएफआरसीका नेपालस्थित राष्ट्रिय प्रतिनिधिमण्डलका प्रमुख अजमत उल्लालले भविष्यवाणीमा आधारित क्रियाकलाप तथा समुदायमा आधारित अवधारणाबाट विपद्का क्षेत्रमा काम गर्नुपर्छ भने । उनले भने, “आइएफआरसीले नेपाल रेडक्रसमार्फत निरन्तर नेपालमा मानवीय सेवाका गतिविधि सहयोग गर्दै आइरहेको छ । आगामी दिनमा यो कार्य जारी रहने छ । ”कार्यक्रममा पूर्वानुमान केन्द्रका प्रमुख कारा सियोहानले पूर्वानुमानसम्बन्धी क्रियाकलापले सङ्कटासन्न समुदायको उत्थानमा सहयोग हुने विश्वास व्यक्त गरे । सो अवसरमा आइएफआरसीले सगरमाथ आरोही मिङ्मार शेर्पालाई सम्मान गरेको थियो ।
आरोही शेर्पाको सो सम्मान उनका श्रीमती नाम्गेल डोमा शेर्पाले ग्रहण गरेका थिए । सोलुखुम्बु सोलुदूधकुण्ड नगरपालिका–१ टैकुब निवासी शेर्पाले यही जेठ २ गते विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका थिए । आरोही शेर्पाले आरोहणका क्रममा सगरमाथाको चुचुरोमा रेडक्रसको झन्डा फहराएका थिए । सगरमाथा आरोहण गर्न जाने क्रममा शेर्पालाई नेपाल रेडक्रस सोसाइटी सोलुखुम्बु शाखाले रेडक्रसको झन्डा हस्तान्तरण गरेको थियो । सोहीअनुरूप उनले आरोहणपश्चात् रेडक्रसको झन्डा फहराएको जनाइएको छ ।
एसिया–प्रशान्त महासागर क्षेत्रमा पूर्वानुमानसम्बन्धी क्रियाकलापको विस्तार तथा अभिवृद्धि गर्ने ध्येयले आयोजित सो पूर्वानुमानसम्बन्धी सातौँ एसिया–प्रशान्तमहासागर क्षेत्रीय संवाद मञ्चमा मानवीय सेवामा काम गरिराखेका, वैज्ञानिक, विपद् विशेषज्ञ तथा सरकारी प्रतिनिधिको सहभागिता रहेको छ । पूर्वानुमानसम्बन्धी क्रियाकलाप भन्नाले विपद् हुनुभन्दा पहिले अथवा विपद्का एकदमै तीव्र प्रभाव महसुस हुनुभन्दा पहिले भविष्यवाणी गरिएको विपद्का प्रभावको न्यूनीकरण गर्नका लागि सञ्चालन गरिने गतिविधिलाई जनाउँदछ ।
यस्ता क्रियाकलापको सञ्चालन प्रकोपको भविष्यवाणी गरिएका प्रभावहरूको पूर्वानुमानका आधारमा गरिन्छ र ती क्रियाकलाप प्रकोपका घटना कुन समयमा, कुन स्थानमा र कसरी हुनेछन् भनी गरिएको भविष्यवाणीमा आधारित हुन्छन् । एसिया–प्रशान्तमहासागर क्षेत्र विश्वमा नै सबैभन्दा बढी प्रकोप जाने सम्भावना भएको क्षेत्र रहेका र धेरै मुलुकले कैयौँ वर्षदेखि यस मानवीय अवधारणाको कार्यान्वयन गर्दै आइरहेका बताइएको छ । संवादमञ्चका सहभागीले एसिया–प्रशान्तमहासागर क्षेत्रभरिका यस्ता आयोजनाका सिकाइ तथा अनुभवको आदान–प्रदान गर्ने जनाइएको छ ।
यी कार्यक्रमले एक–अर्काका उत्कृष्ट अभ्यास तथा चुनौतीहरूबाट सिक्ने र क्षेत्रीय तथा राष्ट्रिय तहहरूमा अझ घनिष्ठरूपमा मिलेर काम गर्ने उपायहरूका बारेमा छलफल गर्ने अवसर पनि उपलब्ध गराउने बताइएको छ । एसिया–प्रशान्तमहासागर क्षेत्रीय संवादमञ्चको आयोजना सन् २०१७ देखि हुँदै आइरहेको छ । मञ्चको सातौँ संस्करणको प्रायोजन पूर्वानुमान केन्द्रद्वारा गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्