वीरेन्द्र रमण
जनकपुरधाम । जसरी फलफूलको राजा भनेर आँपलाई चिनिन्छ, त्यसरी नै आँपको राजधानी मधेस प्रदेशलाई भन्दा अत्युक्ति हुँदैन । सबैभन्दा बढी आँप हुने भनेकै मधेस प्रदेश हो, जहाँ कुल उत्पादनको करिब ६५ प्रतिशत आँप उत्पादन हुने गरेको छ । विभिन्न खाद्यान्न र फलफूल भारत र केही अन्य प्रदेशबाट समेत आउने गरिएपनि आँप उत्पादनमा मधेस भने आत्मनिर्भर रहेको छ । मधेसका उत्तरी भेगका किसानले व्यवसायिक आँप खेती गर्दै आएका छन् ।
मुलुकभर ४२ हजार एक सय ९६ हेक्टर क्षेत्रफलमा आँप खेती हुन्छ । जसबाट वार्षिक ४ लाख ५३ हजार ४ सय १६ टन उत्पादन हुन्छ । मधेस प्रदेशमा मात्र ३ लाख ४४ हजार १ सय ४० टन आँप फल्छ । अहिले मधेसमा ३० हजार ८९ हेक्टरमा आँप खेती गरिएको छ । मधेसका आठवटै जिल्लामा आँपको व्यवसायिक खेती भएकामा सबैभन्दा बढी उत्पादन सप्तरीमा हुन्छ । यस जिल्लामा ८ हजार १ सय ६३ हेक्टरमा गरिएको खेतीबाट १ लाख १० हजार ९५ टन आँप फल्ने गरेको तथ्यांक छ । यस्तै, दोस्रोमा सिरहामा ८ हजार ५ सय ६२ हेक्टरबाट वार्षिक ८८ हजार ३ सय ५४ टन आँप फलाइन्छ भने तेस्रोमा रौतहटमा ५ हजार ४ सय ५२ हेक्टर क्षेत्रफलमा लगाइएको खेतीबाट ६२ हजार १ सय ३३
टन उत्पादन हुन्छ । धनुषामा २२ हजार ९ सय १४ टन, बारामा १९ हजार १ सय ९९ टन, सर्लाहीमा १९ हजार ८६ टन, महोत्तरीमा १७ हजार ६ सय २७ टन र पर्सामा ४ हजार ७ सय ३१ टन आँप उत्पादन हुन्छ । धनुषामा मौसममा आएको समस्याले उत्पादनमा केही कमि आएपनि बजारमा भने पर्याप्त आँप रहेको छ । देशमा बम्बई ग्रिन, बम्बई एलो, गुलाबखास, दसहरी, मालदह, जर्दा, अल्फान्सो, चौसा, कलकत्तिया, नीलमलगायत जातका आँप उत्पादन हुन्छन् । मधेस प्रदेशमा भने देश बाहिरबाट आँप भने आउँदैन ।
व्यवसायिकरूपमा मुलुकभर २४ जिल्लामा आँपको खेती हुन्छ । मलखाद, प्राविधिक तालिमलगायत सुविधा नभएर उत्पादन नबढ्दा मधेस प्रदेशमा आँप उत्पादन र यसको खेती विस्तार हुन सकेको छैन । आँपका बिजु बोट सय वर्षसम्म र कलमी बोट ७० देखि ८० वर्षसम्म बाँच्न सक्छ ।
आँपको बिरुवाका लागि गोबर/कम्पोस्ट मल, नाइट्रोजन, फस्पोरस, पोटास चाहिन्छ । तर किसानले समयमै मल पाउन नसक्दा उत्पादन बढाउन सकिएको छैन । व्यवसायीकरुपमा आँप खेतीलाई बढाउन सकेमा मधेसकै आर्थिक विकासमा योगदान पुग्न सक्छ । कृषिका अन्य क्षेत्रमा सरकारले जसरी अनुदान दिँदै आएको छ, त्यसरी नै आँप खेती गर्ने कृषकलाईसमेत अनुदानको आवश्यकता छ ।
प्रतिक्रिया दिनुहोस्