काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले प्रिमियम मूल्य सहितको आईपीओ आजदेखि निष्कासन गरेको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गरेको हो । असार १५ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ विक्री गर्ने मिति तय गरेको कम्पनीले असार २० गतेदेखि २४ गतेसम्म भने अन्य सर्वसाधारणमा आईपीओ जारी गर्नेछ ।
कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि १२ लाख कित्ता आईपीओ निष्कासन गरेको हो भने कम्पनीका कर्मचारीलाई ६ लाख कित्ता , सामुहिक लगानी कोषहरुलाई ६ लाख कित्ता आईपीओ विक्री गर्नेछ । यी वाहेक बाँकी ९६ लाख कित्ता भने आम सर्वसाधारणलाई सार्वजनिक निष्कासनमा ल्याउनेछ । दुबै समूहका लगानीकर्ताले यो आईपीओ खरीदका लागि आवेदन दिंदा न्युनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताको लागि दिन सकिने व्यवस्था छ ।
कर्मचारीका लागि प्रतिकित्ता रू. १०० अंकित मूल्यमै आईपीओ विक्री गर्ने कम्पनीले अन्यमा भने प्रतिकित्ता रू. १०० अंकित मूल्यमा प्रिमियम वापत रू. १३६ दशमलव ९१ थप गरी प्रतिकित्ता रू. २३६ दशमलव ९१ आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीको शेयर निष्काशन तथा विक्री प्रबन्धकमा सिभिल क्यापिटल लिमिटेड रहेको छ । हाल रू। २ अर्ब ८० करोड चुक्तापूँजी रहेको कम्पनीको चुक्तापूँजी रू। ४ अर्ब पुग्नेछ ।
आईपीओ निष्कासनका लागि गराइएको रेटिङमा केयर रेटिङ नेपालले समयमै वित्तीय दायित्व पुरा गर्न सक्षम रहेको मध्यम स्तरको सुरक्षित कम्पनीको संकेत गर्ने केयर एनपी त्रिपल बी इस्यूअर रेटिङ प्रदान गरेको छ । आर्थिक वर्ष ०७८/७९ सम्मको वास्तविक वित्तीय विवरण अनुसार कम्पनी रू. १ अर्ब ७ करोडभन्दा बढी सञ्चित नाफा गरेको छ । वास्तविक वित्तीय विवरण अनुसार कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १७६ दशमलव ५३ रहेको छ ।
प्रतिक्रिया दिनुहोस्