मोरङ । मोरङको धनपालथान गाउँपालिका र ललितपुरको गोदावरी नगरपालिकामा व्यापारिक कारोबारका तीन जना साझेदारको हत्या आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
सिराहाको सिराहा नगरपालिका–२१ घर भइ काठमाडौंको बल्खुमा बस्दै आएका ३१ वर्षीय अनिल मण्डल, मोरङको जहदा गाउँपालिका–४ सिस्बनीको २९ वर्षीय दिनानाथ साह र धनपालथान गाउँपालिका–७ कमलपुरका ६२ वर्षीय नासिर आलमलाई पक्राउ गरी जिल्ला प्रहरी मोरङले शुक्रबार सार्वजनिक गरेको हो । उनीहरुलाई बिहीबार पक्राउ गरेको प्रहरीले जनाएको छ ।
मोरङको धनपालथान गाउँपालिका–७ स्थित उखुबारीमा दुई जना र ललितपुरको गोदावरी नगरपालिका–१२ ठेचो चरङ्गखेलको गोदाम परिसरमा एक जनालाई हत्या गरी खाल्डो खनेर गाडेको आरोपमा उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी मोरङका प्रमुख प्रहरी उपरीक्षक जनार्दन जीसीले बताए ।
सप्तरीको शम्भुनाथ नगरपालिका–४ का ३२ वर्षीय शम्भुकुमार चौधरीको शव माघ १२ गते र सुनसरीको धरान उपमहानगरपालिका–३ घर भइ भक्तपुर बस्दै आएका ४८ वर्षीय राजेन्द्रकुमार श्रेष्ठको शव माघ १३ गते बरामद भएको थियो । दुबै जनाको हत्या गरी उखुबारीमा गाडेको अवस्थामा प्रहरीले शव बरामद गरेका थिए ।
अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरुका अनुसार श्रेष्ठलाई पुस ५ मा र चौधरीलाई पुस ७ मा हत्या गरिएको थियो । हत्यापछि शव खाल्डोमा पुर्ने मुख्य योजनाकार अनिलकुमार मण्डल भएको प्रहरीले बताएको छन् ।
यस्तै, तेह्रथुमको संक्रान्ति–२ घर भइ काठमाडौं महानगर–८ गोठाटार बस्दै आएका ६३ वर्षीय मोहन लिम्बुको शव प्रहरीले बिहीबार ललितपुरको गोदावरी नगरपालिका–१२ ठेचो चरङ्गखेलको गोदाम परिसरमा खाल्डो खनेर गाडेको अवस्थामा बरामद गरेको हो । लिम्बुलाई मंसिर २८ मा हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जानकारी दिएका छन् ।
मृतक श्रेष्ठ, चौधरी, लिम्बु र पक्राउ परेका मण्डल घर जग्गा कारोबारका साझेदार भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले बताए । ती अधिकारीका अनुसार ‘जग्गा कारोबारमा भएको मुनाफा रकम एक्लै हत्याउन मण्डलले तीनै जनाको हत्या गराएको अनुसन्धानबाट खुलेको छ ।’
लिम्बुलाई हत्या गरेर गाडिसकेपछि मण्डलले श्रेष्ठ र चौधरीलाई लिएर विराटनगर आएका थिए । उनीहरु बसपार्कस्थित मेट्रोसिटी होटेलमा बसेको अनुसन्धानबाट खुलेको बताइन्छ । मण्डलले लिम्बुको हत्या गरेको थाहै नदिई श्रेष्ठ र चौधरीलाई लिएर आएको र फरक फरक दिनमा दुबै जनाको हत्या भएको अनुसन्धानबाट खुलेको छ।
छुट्टाछुट्टै उखुबारीमा खाल्डो खनेर पुरिएको देखेपछि उखु काट्न गएका मजदुरहरुले शंका लागेर इलाका प्रहरी रंगेलीलाई माघ १२ गते जानकारी गराएका थिए । त्यसपछि प्रहरीले खाल्डोको उत्खनन गरेपछि दुवै जनाको शव बरामद गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्