काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीयता कार्यान्वयन गर्ने क्रममा स्थानीय, प्रदेश र केन्द्रलाई समन्वय गर्न राष्ट्रियसभाको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरेकी छन् ।
राष्ट्रपति भवन शीतल निवासमा आज(बिहिबार) आयोजित विशेष समारोहमा ‘संसद्मा समिति प्रणाली ः राष्ट्रियसभा विशेष’ पुस्तकको विमोचन गर्दै राष्ट्रपति भण्डारीले संविधान कार्यान्वयनमा राष्ट्रियसभाले परिपक्वता देखाउनाका साथै आफ्नो महत्वलाई स्थापित गर्न सकेकोमा धन्यवादसमेत दिएकी छन् ।
उनले लोकतन्त्रलाई बलियो बनाउन अर्थतन्त्र बलियो हुनुपर्नेमा जोड दिँदै देशको अर्थतन्त्रलाई बलियो बनाउन सम्बन्धित निकायहरुदेखि प्रत्येक नागरिकले पनि आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्ने आवश्यकता भएको बताइन् । राष्ट्रपतिले भनिन्, “देशको सर्वोपरि हितलाई ध्यानमा राखेर संसद्ले काम गर्नुपर्दछ । यसमा सांसदको भूमिका महत्वपूर्ण हुनेछ ।” संविधानले निर्दिष्ट गरेबमोजिम नै आफूले संविधानको अक्षरशः पालना गर्दै आएको उल्लेख गर्दै संवैधानिक अङ्गहरुले बुझाएका प्रतिवेदनहरुमाथि संसद्मा विस्तृत छलफल गर्ने र सम्बन्धित निकायहरुले पनि तिनको कार्यान्वयन गर्ने परिपाटीलाई बलियो बनाउन आवश्यक रहेको बताएकी हुन् ।
संसद् सचिवालले ‘संसद्मा समिति प्रणाली : राष्ट्रियसभा विशेष’ पुस्तक प्रकाशन गरेर संसदीय गतिविधिहरुको अभिलेखीकरणमा योगदान दिएको र यस्ता प्रकाशनहरुलाई निरन्तरता दिनुपर्ने खाँचो रहेको उनले बताइन् ।
समारोहमा राष्ट्रपतिसमक्ष राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले ‘संसद्मा समिति प्रणाली : राष्ट्रियसभा विशेष’ पुस्तक हस्तान्तरण गर्नुका साथै भने लुम्बिनीका किसानले उत्पादन गरेका विभिन्न कृषिजन्य वस्तु उपहार प्रदान गरेका थिए । सङ्घीय संसद् सचिवालयले प्रकाशन गरेको कूल एक सय ७६ पृष्ठको सो पुस्तकमा संसदीय अभ्यासमा संलग्न तथा विषयगत गहन अध्ययन गर्नुभएका १० व्यक्तित्वका लेखहरु समावेश छन् ।
पुस्तकमा समिति प्रणालीको विकास र अन्तरराष्ट्रिय अभ्यासको नमूनाका रुपमा अष्टे«लिया, अमेरिका र भारतको संसदीय समिति प्रणालीका विषयलाई पनि समेटिएको छ ।
– रासस
प्रतिक्रिया दिनुहोस्