Ads

‘स्मार्ट’ बत्तीले झलमल पोखरा


काठमाडौँ, । पोखराको मुख्य सहरी क्षेत्र ‘हाइमास्र्ट’ र ‘स्मार्ट’ सडकबत्तीले झलमल बनेको छ । ‘उज्यालो पोखरा’ अभियानअन्तर्गत् २० मुख्य चोकमा ‘हाइमास्र्ट’ र करिब ५० किमी सडकमा एक हजार छ सय २४ वटा ‘स्मार्ट बत्ती’ जडान गरिएको छ । नेपाल विद्युत् प्राधिकरण र पोखरा महानगरपालिकाको साझेदारीमा बत्ती जडानको काम भइरहेको हो । पृथ्वीचोक, विरौटाचोक, शहीदचोक, बागलुङ बसपार्क, हेम्जा, फेवा किनारलगायत २० ठाउँमा ‘हाइमास्र्ट’ बत्ती जडान भइसकेको छ ।

चालु आवको कार्यक्रमअन्तर्गत् मुस्ताङ चोक, बाटुलेचौर मैदान र बेगनासतालमा ‘हाइमास्र्ट’ बत्ती जडानको काम भइरहेको प्राधिकरणको राष्ट्रिय सडकबत्ती प्रवद्र्धन आयोजनाका प्रमुख प्रमोद रिजालले जानकारी दिए । “हाइमास्र्ट र स्मार्ट बत्ती जडानको काम सँगसँगै भइरहेको छ, सम्झौता अनुसारको काम पूरा हुने चरणमा छ”, उनले भने,“उज्यालो पोखरा अभियानले अर्को वर्ष पनि निरन्तरता पाउँनेछ, महानगरले पनि कार्यक्रम माग गरेको छ ।”

चालीस मिटर परसम्म चारैतिर उज्यालो दिने ‘हाइमास्र्ट’ बत्तीले पोखराका मुख्य चोक झलमल बनेको आयोजना प्रमुख रिजालले बताए । “हाइमास्र्ट अन्तर्राष्ट्रिय गुणस्तरको टिकाउ बत्ती हो, आवश्यकताअनुसार यसको प्रकाश घटाउन र बढाउन सकिन्छ”, उनले भने, “मोबाइलको सर्भर प्रणालीबाट बत्तीलाई नियन्त्रण गर्न सकिन्छ ।”

सोह्र मिटर अग्लो पोलमा ‘हाइमास्र्ट’ बत्ती राखिन्छ । मानिस र सवारीसाधनको आउजाउ बढी हुने समयमा बत्तीलाई पूर्ण क्षमतामा बालिन्छ । रात छिप्पिँदै जाँदा भने बत्तीको प्रकाशलाई केही घटाउने गरिएको छ । बाहिर उज्यालो हुँदा बत्ती स्वचालित रुपमा निभ्ने र रात परेपछि बल्ने गर्छ ।‘स्मार्ट’ बत्ती नियन्त्रणका लागि ठाउँठाउँमा ‘कन्ट्रोल प्यानल’ राखिएको छ । ‘सफ्टवेयर’ प्रणालीबाट बत्ती बले÷नबलेको जाँच गर्न सकिन्छ । बत्ती बिग्रिएमा उक्त प्रणालीमा सङ्केत आउँछ ।

विरौटादेखि– छोरेपाटन, न्यूरोडलगायत क्षेत्रमा ‘स्मार्ट’ सडकबत्ती जडान गरिएको महानगरका इञ्जिनियर धु्रव भट्टराईले बताउनुभयो । उहाँका अनुसार ९० वाटका एक हजार एक सय २४ र एक सय २० वाटका पाँच सय २० ‘स्मार्ट’ बत्ती जडान गरिएको हो । चार सय ४० वटा नयाँ र बाँकी पुरानै बिजुलीका पोलमा ‘स्मार्ट’ बत्ती राखिएको छ ।

सडकबत्तीका लागि प्राधिकरणले छुट्टै ट्रान्सफर्मर जडान गरेको छ । कूल रु १२ करोड ७५ लाखको उक्त आयोजनामा प्राधिकरण र महानगरको ५०÷५० प्रतिशत लागत साझेदारी रहेको छ । अर्को वर्ष ‘जिरो’ किमिदेखि फेँदीसम्म ‘स्मार्ट’ सडकबत्ती जडान गर्ने योजना रहेको इञ्जिनियर भट्टराईले बताए ।

 

Ads

सम्बन्धित पोष्टहरू