काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निर्माण भइरहेका प्रसारणलाइन पूर्वाधार आयोजनाहरु सम्पन्न गर्न दिने गरी सबै पक्षले नसघाए अर्को वर्ष बिजुली आपूर्तिमा ‘विपत्ति’ आउन सक्ने बताएका छन् । आइतबार प्राधिकरणको केन्द्रीय कार्यालय रत्नपार्कमा पत्रकार सम्मेलन गर्दै कार्यकारी निर्देशक घिसिङले यस्तो बताएका हुन् ।
उनले जताततै प्रसारण पूर्वाधार बनाउने काममा सरकारी कार्यालयदेखि स्थानीयहरुसम्मले अवरोध गर्दा आपूर्ति व्यवस्थापन नै जटिल बन्दै गएको बताए । यसका कारण अर्को वर्ष विद्युत आपूर्ति प्रणालीमा ‘डिजास्टर’ आउन सक्ने उनको भनाई छ ।
‘बर्दघाटमा २ वटा टावर बनाउन भएको अवरोधका कारण पूर्वबाट पश्चिममा बिजुली लैजान सकिएको छैन, त्यहाँ अवरोध फुकाउन खोज्दा विश्व बैंकले नै सहयोग रोक्ने चेतावनी दिन्छ,’ घिसिङले भने, ‘ठाउँ–ठाउँमा भइरहेको अवरोध हटाउन हाम्रो टोली फिल्डमै पुग्दा समाधान गर्ने प्रतिवद्धता जनाइन्छ, तर कतैबाट सहयोग हुँदैन, काम नै गर्न दिइँदैन ।’
देशभित्रै विद्युत खपत गराउन पूर्वाधार निर्माण गर्न प्राधिकरणले ५ वर्षमा आर्जन गरेको नाफाबाट झण्डै एक खर्ब लगानी गरिरहेको भन्दै उनले त्यो लगानी नगरेको भए अहिले १५–१६ घण्टा लोडसेडिङ भइरहेको अवस्था हुने बताए । तर, त्यस्तो जोखिम टार्दा टार्दै पनि पूर्वाधार निर्माणमा भइरहेको अवरोधका कारण प्रणाली व्यवस्थापनमा चुनौती थपिएको उनको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्