Ads

किन फालियो कालिमाटीमा गोलभेडा ?


काठमाडौँ,। आईतबार काठमाडौको कालिमाटी स्थित तरकारी बजारमा मुल्य नभएको भन्दै टमाटार फालिदै गर्दा काभ्रेका किसानहरु भने बारीमै बिरक्तिएका थिए । बारीमा दुःख गर्ने किसानले जहिल्यै पसिनाको लागत समेत नउठ्ने गरि कम मुल्यमा बेच्नु पर्ने तर केहि घण्टाको ढुवानी पछि काठमाडौ आई पुग्दा यहाँका उपभोक्ताले भने २० गुणा भन्दा बढि समेत मुल्य तिर्नु पर्ने ? उपभोक्ता र उत्पादक विचको यहि ठुलो अन्तरको फाईदा कसले लिई रहेको छ ? यिनै प्रश्नहरुका कारण त्यो टमाटर फालिएको विषय प्रति आशंका व्याप्त भएको छ ।

काठमाडौका लागि तरकारी फलाउने नजिकैका जिल्लाहरु धादिङ्, काभ्रे, नुवाकोट, भक्तपुर, ललितपुरका कतिपय स्थनका किसान २ रुपैयाँ प्रति किलोका दरले टमाटर बेच्न बाध्य हुँदा कालिमाटी हुँदै खुद्रा विक्रेतासम्म पुग्दा उपभोक्ता ४० रुपैयाँ भन्दा बढि तिर्न बाध्य छन् । आखिर कसरी हुन्छ त यति धेरैको मुल्यान्तर ? अनि किन फाल्नु प¥यो त कालिमाटीमा सयौं केजी टमाटर ? अहिले बहसको विषय बनेको छ ।

शंकास्पद प्रदर्शन

आईतबार बिहान ७ बजे पछि कालिमाटी तरकारी बजारमा टमाटार फालेर विरोध प्रदर्शन शुरु हुँदै गर्दा चोक बजारसम्म त्यहाँको टमाटार पुगि सकेको थियो । बिहान ३ बजेबाट विक्रि शुरु हुने बजारमा ४ घण्टा पछि मात्र बिरोध प्रदर्शन शुरु भएको थियो । आखिर किन, ठुलो परिमाणको तरकारी विक्रिपछि मात्र टमाटार फालेर विरोध प्रर्दशन गरियो ? यसले पनि आशंका उब्जाएको छ ।

कतिपयले ति टमाटर फाल्नेहरु ठुला भण्डारणकर्ता हुन्, उनीहरुले मुल्य बढाउन बिक्रि नभएर उभ्रिएको टमाटर मात्र फालेका हुन् भनि रहेका छन् भने आन्दोलन गर्नेहरुले उनीहरु वास्तविक किसान भएको बताई रहेका छन् । फलपूmल तथा तरकारी थोक व्यवसायी संस्थाले व्यापारीले नभई किसानहरुले आन्दोलन गरेको जनाएको छ । किसानले उचित मुल्य नपाएको भन्दै टमाटर फालेर विरोध जनाएको संस्थाकी अध्यक्ष गीता आचार्यको भनाई छ ।

बजारको गेट, परिसर र सडकमा ५ हजार क्रेट भन्दा बढि टमाटर फालिएको आन्दोलनकारीहरुको दावि छ । तर सरकारी अनुगमन टोलीले सो परिमाणलाई पनि शंकाकै नजरले हेरेको छ । किसानको भनिएको आन्दोलन पछि पुगेको सरकारी अनुगमन टोलीले त्यहाँ स्थलगत अध्ययन गरेको हो ।

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले अनुगमन गर्दा २ सय क्रेट हाराहारीमा टमाटर फालेको अनुमान गरिएको छ । बजारमा भित्रिएको ९५ हजार किलो मध्ये मध्ये अधिकांश टमाटर विक्रि पछि विरोध स्वरुप बाँकि रहेको फालिएको हुन सक्ने समितिको ठहर छ ।

किन फालियो टमाटर ?

दुध उत्पादक किसानले कहिले सडकमा दुध पोख्छन् । तरकारी उत्पादकले कहिले तरकारी पोख्छन् । त्यस्ता अधिकांश आन्दोलनको माग उचित मुल्य नपाएकोनै भन्ने हुने गर्दछ । यसै गरि पछिल्लो पटक कालिमाटीमा टमाटर फालिएको आन्दोलनको माग पनि उहि थियो । उपभोक्ताले उच्च मुल्य तिर्नु परे पनि किसानले किन उचित मुल्य पाई रहेका छैनन् त ? यो टिठ लाग्दो प्रश्न हो । तर के, त्यहाँ टमाटर फाल्ने सवै किसान थिए त ? यो प्रश्न पनि सँगै उठेको छ ।

अघिल्ला दिन सम्म टमाटर खुरुखुरु संकलन गर्ने, काठमाडौको बजारमा खपत नभए पोखरा सम्म पठाउने नियमिति व्यवसाय चलि रहेको थियो । तर आईतबार काठमाडौका बजारका लागि आवश्यक पर्ने विक्रि गरि सके पछि बाँकि रहेको टमाटार फालेर विरोध प्रदर्शन गरियो । यो किसानलाई उचित मुल्य दिलाउने भन्दा पनि ठुला थोक व्यवसायी र भण्डारकर्तालाई फाईदा पुग्ने भएको हुन सक्ने देखिन्छ ।

न्युनत खुद्रा मुल्य उच्च तोक्न दवाव दिने र सोहि अनुसार बिक्रि गर्ने तर किसानलाई सो अनुसार भुक्तानी नगरि बढि मुनाफा कमाउने आन्दोलनको लक्ष्य हुन सक्ने उपभोक्ता अधिकारकर्मीहरुको आशंका छ । त्यसैले उत्पादक र उपभोक्तालाई भन्दा बढि विचौलियालाई मात्र फाईदा हुने अवस्था हुन नदिन सरकारी अनुगमन संयन्त्र सक्रिय हुन आवश्यक देखिन्छ ।

कमजोर किसान, बलिया विचौलिा

किसानको बारी देखि उपभोक्ताको भान्सा सम्म आई पुग्दा हरेक कृषि उपजले बिचौलियाका विभिन्न सिण्डिकेट पार गर्नु पर्दछ । किसानको घर घरै पुगेर संकलन गर्ने, संकलन गरेको उपजलाई थोक संकलन केन्द्र सम्म ल्याउने, त्यहाँबाट काठमाडौ भित्र्याउने, त्यस पछि कालिमाटी प्रवेश गराउने, प्रवेश भएको तरकारीलाई ठुलो थोक विक्रेता सम्म लैजाने, थोक विक्रेताबाट मध्यम स्तरको विक्रेता सम्म पु-याउने, त्यस पछि चोक–बजारका ठुला विक्रेता हुँदै ४/५ केजी खरिद गरि उपभोक्तालाई विक्रि गर्ने खुद्रा किसान सम्म पुग्दा विचौलियाका करिव एक दर्जन आग्ला पार गर्नु पर्दछ ।

तर किसान र थोक विक्रेताको सोझो सम्पर्क स्थापित हुन विचौलियाहरुले दिँदैनन् । जसका कारण हरेक तहमा मुल्य वृद्धी हुँदै आउँदा उत्पादन देखि उपभोग सम्ममा मुल्य २० गुणा भन्दा बढि मुल्य वृद्धी भई सकेको हुन्छ । किसानले मल, विउ, सिँचाई, पूर्वाधार लगायतका हैरानी भोग्दै उत्पादन गरेको उपजको मुल्य व्यापारीले निर्धारण गरि दिने र थोक विक्रेतालाई पनि आँफै मुल्य तोकेर बेच्ने गरेका कारण किसान र उपभोक्ता मारमा पर्नु परेको किसान नेता बेनुप्रसाद शिवाकोटी बताउँछन् ।

काठमाडौको तरकारी बजारमा होस् वा अन्य जिल्लाका किसानहरुको समस्या, मुख्य कुरा किसान र सरकार भन्दा विचौलिया बलिया भएका कारण यस्तो समस्या आउने गरेको उनी बताउँछन् ।

 

Ads

सम्बन्धित पोष्टहरू