ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिका– ७ सुरुम्खिमका २८ वर्षीय डेनिस गुरुङ र २१ वर्षीया अनिता राई (गुरुङ) अढाइ वर्षकी छोरी च्यापेर पाँच दिनदेखि गाउँबस्तीभन्दा टाढाको ओढारमा बस्दै आएका छन् ।
सधँै बस्दै आएको याक्सा गोठ नजिकै अविरल वर्षासँगै पहिरो गएपछि गाउँबस्तीतर्फ आउन नक्दा ओढारमा गएर आश्रय लिएका हुन् । गाउँको घरबाट एक दिनको पैदल दूरीमा रहेको गोठबाट फर्किन तीन वटा खोला वर्षाका कारण तर्न मुस्किल भएकाले ओढारमै बस्नुपर्ने बाध्यता भएको डेनिसकी आमा चेतमाया गुरुङले बताए ।
पहिरोले २५ वटा बाख्रासहित खोर नै बगाएको छ भने बस्दै आएको याक्सा पनि जोखिममा परेको छ । आलुखेतीसमेत पहिरोले बगाएको उनले बताइन् । घरतर्फ आउन विभिन्न तीन वटा खोला खोल्सा तर्नुपर्छ । तीनवटै खोलाका पुल बाढीले बगाएको छ । पाङ्दा, कुङ्लिङ र तावा खोला तरेर आउनुपर्ने भएकाले समस्या भएको हो । अर्कातर्फ अत्यधिक वर्षा भइरहेकाले पनि घर आइपुग्न मुस्किल हुने चेतमायाको भनाइ थियोे ।
वर्षासँगै याक्सा आसपासमा पहिरो जान थालेपछि ओढ्ने ओछ्याउनेसहित सामान बोकेर डेनिस परिवार ओढारमा गएका थिए । बेलाबेलामा खानेकुरा ओसारपसार गर्नुपर्ने हुँदा भएको खानेकुरा सकिनै लागेको बताउने उनीहरुसँग आज भने फोन सम्पर्क नभएको चेतमायाको भनाइ थियो ।
शनिबार उद्धारका लागि बुरुम्खिमबाट तीन जनाको टोली पठाउने तयारी भए पनि वर्षाका कारण उक्त टोली जानसकेन । उद्धारमा समस्या भएकाले सहयोग पु¥याउन डेनिस परिवारले आग्रहसमेत गरेका छन् ।
हेलिकप्टरको पर्र्खाइमा
यता बिहान गएको पहिरोमा परी घाइते भएका मेहेलेका राजकुमार राईलाई उपचारका लागि अन्यत्र लैजान छरछिमेक तथा आफन्त हेलिकप्टर कुरेर बसेका छन् । घाइते भएका राजकुमारलाई घटनास्थलदेखि हेलिकोप्टर बस्ने स्थानसम्म झण्डै आधा घण्टाको दुरीमा ल्याएर राखिएको छ । राईको उद्धारका लागि विराटनगरबाट हेलिकप्टर छुटेको बताइएको छ ।
बिहानैदेखि हेलिकप्टर आउने चर्चा चले पनि समयमै उक्त स्थानमा पुगेको छैन । प्रतिकुल मौसमका कारण पनि बिहानै उद्धार गर्न नसकिएको जनाइएको छ । राजकुमारसँगै पहिरोमा परेका सुरेश राईको निधन भएको छ भने बेपत्ता केशरबहादुर राईको शव फेला परेको छ ।
प्रतिक्रिया दिनुहोस्