काठमाडौँ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज(शुक्रबार) नेपाली खेलाडी र प्रशिक्षकहरुलाई सम्मान गरिएको छ ।
१३ औं दक्षिण एसियाली फुटबल(साफ)को उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडीहरु र मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीलाई प्रधानमन्त्री शेर बहादुर देउवाले नगद सहित सम्मान गरेका हुन् ।
साफमा ऐतिहासिक नतिजा निकालेर राष्ट्रको गौरव बढाएको भन्दै सरकारले राष्ट्रिय फुटबल टिमका खेलाडीलाई जनही ५ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको थियो । सोही घोषणा अनुसार आज खेलाडीलाई ५ लाख, प्रशिक्षकलाई जनही ३ लाख र अफिसियललाई प्रमाणपत्र सहित सम्मान गरिएको हो ।
त्यस्तै नेपाली महिला भलिबल टोलीलाई पनि सरकारले नगदसहित पुरस्कृत गरेको छ ।
बंगलादेशमा आयोजित एसियन सिनियर सेन्ट्रल जोन भलिबल च्यालेन्ज कपमा नेपाली महिला भलिबल टोलीले उपाधि हात पारेको थियो । नेपाल लगातार दोस्रो पटक च्याम्पियन बनेको हो । उपाधि विजेता टोलीका १२ जना खेलाडीलाई जनही ५÷५ लाख, प्रशिक्षकलाई जनही ३ लाख र १ जना अफिसियललाई २ लाख नगदले पुरस्कृत गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्