काठमाडाैँ । नक्कली भुटानी शरणार्थी ठगी प्रकरणमा धरौटीमा छुटेका दुईजनामाथि सम्पत्ति शुद्धीकरण विभाग र अख्तियारले थप छानबिन गरेको छ ।
गत शुक्रबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेले यस प्रकरणमा पक्राउ परेका १८ मध्ये दुई जनालाई धरौटीमा छाड्न आदेश दिएको थियो।
टंककुमार गुरूङलाई १० लाख र लक्ष्मी महर्जनलाई ५ लाख रुपैयाँ धरौटी बुझाउन आदेश दिएको थियो।
उनीहरूले धरौटी बुझाए पनि छुटिसकेका भने छैनन्। उनीहरूलाई थप अनुसन्धानको लागि सम्पत्ति शुद्धीकरण विभागमा बुझाइएको हो।
सरकारी वकिलको कार्यालयले उनीहरूसहित ३० जना अभियुक्तहरूलाई पाँच वटा कसुरमा मुद्दा दायर गरेको थियो।
ठगी, संगठित अपराध, राज्यविरूद्धको कसुर, लिखतसम्बन्धी कसुर र एकीकृत कसुरमा मुद्दा दर्ता गरेको थियो। त्यससँगै यो प्रकरणमा सम्पत्ति शुद्धीकरण र अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पनि अनुसन्धान गर्नुपर्ने उल्लेख थियो। त्यसअनुसार नै प्रहरीले उनीहरूलाई विभागमा बुझाएको हो।
यस प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, सचिव टेकनारायण पाण्डे, इन्द्रजित राई, पूर्व सांसद आङ्टावा शेर्पालगायत १६ जनालाई अदालतले पुर्पक्षको लागि थुनामा पठाएको छ। उनीहरू हाल केन्द्रीय कारागार सुन्धारामा छन्।
प्रतिक्रिया दिनुहोस्