Ads

किसानलाई पेन्सनको व्यवस्था गरौं : प्रभु साह


काठमाडौँ । आम जनता पार्टीका अध्यक्ष एवं सांसद प्रभु साहले किसानलाई पेन्सन दिन प्रस्ताव गरेका छन्।

कृषि क्षेत्रको प्रोत्साहन र किसानको सम्मानको लागि उनीहरूलाई पेन्सन दिने व्यवस्था गर्न सरकारले आँट गर्नुपर्ने उनको तर्क थियो।

बुधबार प्रतिनिधिसभामा कृषि तथा पशुपक्षी विकास मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै अध्यक्ष साहले लुटेर बसेका कर्मचारीहरूलाई पेन्सन दिने तर किसानलाई नदिने काम नगर्न पनि सरकारलाई सचेत गराए।

उनले विनियोजित बजेटले कृषि क्षेत्रतर्फ आकर्षित गर्न सक्ने सम्भावना नरहेको उल्लेख गर्दै त्यसतर्फ विशेष ध्यान पुर्‍याउन पनि सरकारलाई सुझाव दिए।

अध्यक्ष साहले भने, ‘किसानलाई पेन्सनको व्यवस्था गरौं। लुट्ने स्थायी सरकारलाई होइन। ठूलो भाग खानेलाई पेन्सन दिएर पाल्ने होइन। स्वार्थीलाई सम्मान गर्ने हो कि त्यागीलाई सम्मान गर्ने हो ? किसानले आफ्नो हक प्राप्तिका लागि आन्दोलन गर्नुपर्ने अवस्था नआओस्। कृषिलाई आकर्षक बनाउन यो परम्परागत बजेटले सम्भव छैन।’

अध्यक्ष साहले गरिबलाई पनि पढ्न सक्ने वातावरणको निर्माण हुने गरी शिक्षा क्षेत्रका बजेटको उचित व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराए।

Ads

सम्बन्धित पोष्टहरू