असार ७, २०८०
झापा / झापाको कमल गाउँपालिका १ को वडा कार्यालयका लागि जग्गा प्रदान गर्ने दाताहरुलाई गाउँपालिकाले सम्मान गरेको छ । वडा कार्यालयका लागि स्थानीय रामकृष्ण भट्टराई ४ कठ्ठा, विक्रम भट्टराई ३ कठ्ठा पाँच धुर, स्व. मानबहादुर, स्व. गंगादेवी, छोरा गणेश भट्टराई ३ कठ्ठा ५ पाँच धुर, बुवा पर्शुराम छोरा कुमार खड्का २ कठ्ठा, धर्मानन्द काफ्ले २ कठ्ठा, भीमकुमारी अधिकारी र खिनबहादुर अधिकारी १÷१ कठ्ठा गरि कुल साढे सोह्र कठ्ठा निशुल्क दान गरेका थिए ।ति जग्गा दाताहरुलाई गाउँपालिका अध्यक्ष हुकुमसिंह राई र वडाअध्यक्ष केदार कटुवालले दोसल्ला र सम्मान पत्र प्रदान गरेका हुन् ।
सोहि अवसरमा निशुल्क स्वास्थ्य शिविर समेत सञ्चालन गरिएको थियो । सो शिविरमा ४२७ जनाको स्वास्थ्य परीक्षण गरिएको वडाअध्यक्ष कटुवालले जानकारी दिए । शिविरमा नाक, कान, घाँटी सम्बन्धि, जेनरल फिजिसियन सेवा, हाड जोर्नी तथा नशा रोग, मानसिक रोग, आँखा जांच गरिएको थियो भने आवश्यक औषधी समेत निशुल्क वितरण गरिएको थियो ।
त्यस्तै, रक्तदानमा पालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकुमार शाक्यसहित १४ जनाले रक्तदान गरेका थिए । स्वास्थ्य शिविर दमकको आम्दा अस्पताल, मेची नेत्रालय र नेपाल रेडक्रस सोसाइटी झापा शाखाको प्राविधिक सहयोगमा भएको थियो । यस्तै, वडाले कमल –१ का ११ वटै टोलका युवाहरुलाई फुटबल, जर्सी र भलिवल वितरण तथा वडाका अपांगता भएकालाई आवश्यक सहायता सामाग्रीहरु समेत वितरण गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्