काठमाडौं । बैतडीमा लम्पी स्कीन रोगबाट आठ हजार दुई सय पशुचौपाया सङ्क्रमित भएका छन् । हालसम्म लम्पी स्कीनबाट पाँच सय दुई पशुचौपाया मरेका छन् । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख गुमानीदत्त पन्तका अनुसार जिल्लामा गत मङ्सिरमा पाटनमा केही किसानले पालेका पशुमा यो रोग देखिएको थियो ।
हाल जिल्लाभरि फैलिएको छ । लम्पी स्कीनबाट बाच्छाबाच्छी, गाई, गोरु र भैँसी बढी प्रभावित भएका छन् । लम्पी स्कीनबाट दुई हजार तीन सय ४८ बाच्छाबाच्छी, दुई हजार नौ सय ६० गाई, दुई हजार दुई सय ८० गोरु र छ सय ४५ भैँसी सङ्क्रमित भएका छन् ।
लम्पी स्कीन रोगले गाई, गोरु र भैँसी धमाधम मर्न थालेका छन् । हालसम्म एक सय ३५ बाच्छाबाच्छी, एक सय ७६ गाई, एक सय ३२ गोरु र ३० भैँसी मरिसकेका पन्तले जानकारी दिए । लम्पीस्कीनबाट धमाधम पशुचौपाया मर्न थालेपछि किसान चिन्तित बनेका छन् । घरपालुवा पशुमा सङ्क्रमण र उक्त रोगले धमाधम मर्न थालेपछि चिन्ता बढेको दोगडाकेदार–३ श्रीकोटका मानसिंह विष्टले बताए । उनले भने, “घरपालुवा जनावर धमाधम थला पर्न थालेका छन् । औषधि उपचार पनि छैन ।”
मकै छर्ने बेला गोरु बिरामी भएको उल्लेख गर्दै विष्टले रोपाइँ गर्न समस्या भएको बताए । उनले भने, “मकै छर्ने बेला गोरु बिरामी भएर समस्या भयो, अब रोपाइँ गर्ने बेला भयो, के गर्ने भन्ने चिन्त छ ।” रोगबारे प्रदेश सरकार र केन्द्र सरकारलाई जानकारी गराइसकेको प्रमुख पन्तले बताए । जिल्लाका ८४ वटै वडामा यो रोग फैलिसकेको छ ।
नियन्त्रणका लागि सामान्य औषद्योपचार भइरहेको भए पनि नियन्त्रण हुन नसकेको पन्तको भनाइ छ । लम्पी स्कीनको औषधि नभएका कारण यो रोगबाट प्रभावित पशुको उपचारमा समस्या भएको छ । उनले भने, “सामान्य औषद्योउपचारबाहेक अन्य कुनै नियन्त्रणको उपाय छैन, सरकारी जनशक्ति मात्रै यो रोग नियन्त्रण हुने अवस्था छैन् । अहिले सङ्क्रमित देखिएका पशु पनि मर्ने क्रम झन बढ्ने देखिन्छ ।”
लम्पी स्कीन रोग नियन्त्रणका लागि सरकारीबाहेकका अन्य दश जनशक्ति परिचालन र खोपको व्यवस्था हुनुपर्नेमा पन्तको जोड रहेको छ । उनले भने, “रोग नियन्त्रणका लागि सरकारी जनशक्तिले पुग्दैन, अन्य जनशक्ति पनि परिचालन गर्नुपर्छ । साथसाथै खोपको पनि व्यवस्था हुनुपर्छ । जिल्लामा गत फागुनमा यो रोग भएको प्रमाणित भएको थियो । पशुचौपायामा ज्वरो आउने, सिँगान तथा र्याल बगाउने, शरीरमा गीर्खा आउने, दखुर पाक्नेलगायत लक्षण देखिने गरेका छन् ।
यो रोग झिङ्गा, लामखुट्टे र किर्नाले टोकेमा वा दानापानी, चरन क्षेत्र र पशुको आपसमा संसर्गका माध्यमबाट फैलिने भएकाले सचेत रहन अपिल गरिएको छ । रोग नियन्त्रण गर्न किसानले भुसुना, किरा र लामखुट्टे नियन्त्रणका लागी गोठको सरसफाइ, भकारो (पर्सो) व्यवस्थापन र चरन क्षेत्रको ख्याल गर्नुपर्ने हुन्छ ।
प्रतिक्रिया दिनुहोस्