काठमाडाैं । नेपाल आइसिसी एकदिवसीय विश्वकप छनोट खेलमा विश्वविजेता वेस्ट इन्डिजसँग पराजित भएको छ। बिहीबार भएको आफ्नो तेस्रो खेलमा नेपाल १०१ रनले पराजित भएको हो।जिम्बावेको राजधानीमा रहेको हरारे स्पोर्टस् क्लबमा वेस्ट इन्डिजले दिएको ३ सय ४० रनको लक्ष्य पछ्याएको नेपाल ४९.४ ओभरमा अलआउट हुँदै २ सय ३८ रनमा समेटिएको हो ।
नेपालका लागि आरिफ शेखले ९३ बलमा ४ चौका र १ छक्काको सहयोगमा ६३ रनको अर्धशतकीय ईनिङ खेलेर आउट भए । साथै गुल्सान झा ५८ बलमा ५ चौका र १ छक्काको सहयोगमा ४२ रन बनाउँदै आउट भए। त्यस्तै, कप्तान रोहित पौडेलले ३० रन, आसिफ शेख र करण केसीले समान २८/२८ रन जोडे ।
वेस्ट इन्डिजका लागि जेसन होल्डरले ३ तथा अल्जारी जोसेफ, किमो पल र अकिल होसेनले समान २/२ विकेट लिए । कायल मेयर्सको नाममा १ विकेट रह्यो । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले कप्तान शाई होप र निकोलस पुरनको शतकमा नेपाललाई जितको लागि तीन सय ४० रनको लक्ष्य दिएको थियो। निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै तीन सय ३९ रनको योगफल बनाएकाे हाे ।
दुई खेलमा अपराजित वेस्ट इन्डिज ४ अंकका साथ समूह ए को शीर्ष स्थानमा उक्लिएको छ भने २ अंक रहेको नेपाल चौथो स्थानमा झरेको छ। यसअघि भएको पहिलो खेलमा नेपाल जिम्बावेसँग आठ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा नेपालले अमेरिकालाई छ विकेटले हराएको थियो ।
प्रतिक्रिया दिनुहोस्