Ads

बाढी पहिराेका कारण पाँचथरमा ११९ परिवार विस्थापित


पाँचथर। पाँचथरमा बाढी र पहिराेका कारण चार स्थानीय तहका एक सय १९ घर परिवार प्रभावित भएका छन् । सुरक्षा निकायले सङ्कलन गरेको तथ्याङ्कअनुसार बाढी पहिराेका कारण जिल्लाका एक सय १९ परिवारका पाँच सय ७४ जना नागरिक प्रभावित बनेका हुन् । बाढी र पहिराेका कारण १४ घर पूर्णरूपमा विस्थापित भएका छन् ।

पूर्ण विस्थापित हुने जिल्लावासीको सङ्ख्या ५९ छ। यस्तै जिल्लाका ८६ घर बाढी पहिराेको उच्च जोखिममा छन् । उच्च जोखिममा परेका ८६ परिवारका चार सय २५ नागरिक पनि विस्थापित बनेका छन्। यस्तै बाढी पहिराेका कारण १९ घरमा आंशिक क्षति पुगेको छ, जसकारण ९० जना नागरिक प्रभावित बनेको प्रमुख जिल्ला अधिकारी मेखबहादुर मङ्ग्रातीले जानकारी दिए। जिल्लामा हाल कूल पाँच सय ७४ नागरिक आफ्नो घरबाट विस्थापित बनेको प्रजिअ मङ्ग्रातीले बताए।

बाढीले यहाँका छ वटा पक्की पुल बगाएको छ। यस्तै एउटा बेलिब्रिज, आठ वटा झोलुङ्गे पुल र एउटा फलामको ट्रस पनि बाढीले बगाएको छ। पुलमा क्षति भएपछि मेची राजमार्गको फिदिम–ताप्लेजुङ खण्ड, तमोर कोरिडोरको माझीटार–ताप्लेजुङ खण्ड, मध्यपहाडी लोकमार्गको ओयाम–च्याङथापू खण्ड अवरुद्ध भएका छन्। दर्जनौँ ग्रामीण सडकको सवारी आवागमन प्रभावित बनेको प्रजिअ मङ्ग्रातीले जानकारी दिए।

जिल्ला दैवी प्रकोप समितिले बाढी पहिराका कारण विस्थापित सबै परिवारसम्म राहत सामग्री पुर्याएको छ। पूर्णविस्थापित परिवारका लागि लामो समय उपयोग गर्न सकिने पाल पनि जिल्ला आइपुगेको र आजदेखि वितरण थालिने प्रजिअ मङ्ग्रातीको भनाइ छ। बाढी पहिराेले हालसम्म एउटा विद्यालय, तीन वटा गोठ, ४६ वटा चौपाया बगाएको तथ्याङ्क सङ्कलन भएको छ। बाढी पहिराेले जेसीबी मेसिन दुई वटा, एउटा ट्र्याक्टर, एउटा मोटरसाइकल, एउटा स्काभेटर र एउटा क्रसर मेसिन पनि बगाएको छ।

बाढी पहिराका कारण यहाँका हजारौँ रोपनी क्षेत्रफलमा लगाइएको बालीमा क्षति पुगेको छ। यद्यपी बालीमा पुगेको क्षतिको विवरण सङ्कलन भइनसकेको प्रजिअ मङ्ग्रातीले बताए। पाँचथरमा पहिरोले एक बालिका तथा बाढीले एक महिला र एक पुरुषको ज्यान गएको छ। बाढीमा अझैसम्म तीन जना बेपत्ता छन् । बेपत्ताको खोजीकार्य जारी रहेको र यसमा तमोर नदीको सीमावर्ती जिल्लाका सुरक्षा निकायसँग समेत समन्वय भइरहेको प्रजिअ मङ्ग्रातीले जानकारी दिए।

Ads

सम्बन्धित पोष्टहरू