Ads

देश जोड्ने तन्नेरी सपना


 

विद्यालय तह देखिनै रंगक्षेत्रमा आकर्षित भएका सिजन दाहाललाई एक दशक अघि सम्म रंगमञ्च र कला क्षेत्रलाईनै जीवनको अंग बनाउँछु भन्ने लागेको थिएन । तर २०७० साल देखि भने उनी यहि क्षेत्रमा पूर्णकालिन भएका छन् । एक दशक अघि मण्डला थिएटरमा नाटकको कार्यशालामा सहभागी हुन पाए पछि उनलाई अझ आत्मविश्वास बढेर आयो ।

शुरुवाती दिनहरुमा दमक आसपासमा हुने विभिन्न नाटकमा झुल्किन थालेका उनले प्रारम्भिक अभ्यास र अभिनय त्यस बेलाको गन्तव्य थिएटरमा गरे । तर मण्डला थिएटरमा ४ महिनाको सघन कार्यशालामा सहभागी भएपछि भने उनको कार्यशैलीमा परिवर्तन आयो । हेर्ने नजर बदलियो, देख्ने क्षितिज पनि फराकिलो भयो ।

सन् २०१८ र २०१९ मा बिमल सुवेदीसँग प्ले मेकिङ वर्कसपका दुई वटा संस्मरणमा सहभागी हुन पाए पछि उनलाई अभिनय गर्ने भन्दा नाटकलाई कसरी बलियो र स्तरीय बनाउने भन्ने तर्फ रुची बढ्यो । चौतारी नाटक, कचहरी नाटक, नाट्य लेखन तर्फ अभ्यास गर्दै जाँदा उनी रंगमञ्चबाट सिनेमाका लागि पनि काम गर्न सक्ने भए ।

चलचित्र यात्रा
झापा दमककै नाट्यकर्मी तथा साहित्यकार प्रकाश आङ्देम्बेले भुटानी शरणार्थीहरुको जीवनमा आधारित चलचित्र “देश खोज्दै जाँदा” बनाउन थाले पछि उनलाई पनि त्यो समुहसँग काम गर्ने अवसर मिल्यो । त्यसमा मुख्य साहयक निर्देशक भएर काम गरेका सिजनले भने–‘चलचित्र निर्देशक साम्तेन भुटियाले टेक्निकल कुराहरु एकदमै धेरै सिकाउनु भयो ।

त्यस पछि काम गर्ने उत्साह झनै बढेर आयो ।’ त्यस पछि पुरानो डुङगा, मिस्टर झोले, कबड्डी ३, लगायतमा रामबाबु गुरुङ्को मुख्य साहयक निर्देशक हुँदा नेपाली समाजको मौलिक चरित्रहरु र मौलिक कथाहरु बुन्न धेरै सिक्न पाएको उनी सुनाउँछन् । ‘त्यहि स्किृप्ट राईटर उपेन्द्र सुब्बा दाजु र स्किृनप्ले राईटर रामबाबु दाजु सँग वरिपरि हुँदा नै समाजको कुरालाई सिनेमामा कलातमक रुपमा ल्याउन दाईहरु बाटै सिके । मलाई पनि यस्तै सिनेमाहरु नै मन पर्छ’ उनले सुनाए ।

सिक्दै सिकाउँदै
करिव डेढ दशकको नाट्य अनुभव भएका सिजनले केहि वर्ष देखि भने कलाकारीतामा आफुलाई सिक्दै सिकाउँदै गर्ने पात्रको रुपमा उभ्याएका छन् । पुरानो डुङगा, मिस्टर झोले जस्ता सफल चलचित्रको सहायक निर्देशक तथा देश खोज्दै जाँदा, अनागत, सुस्केरा, कबड्डी ३, जारी जस्ता चलचित्रमा मुख्य सहायक निर्देशक भई काम गरेका उनी झापामा बसेर आफु भन्दा नयाँ पुस्तालाई नाट्यकर्ममा उत्प्रेरीत पनि गरि रहेका छन् ।

त्यसो त, बुद्धी सागरको कथामा उनले निर्देशन गरेको गैंडा टाईम्स नाटक २०७६ सालको नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सवमा सहभागी भई काठमाडौ, पोखरा र बिराटनगरमा पनि मञ्चन भएको थियो । मरिचेको चुप्पी, गैडा टाईम्स, चुपचाप चाराना, बाह्र दुर्वाशा लगायत नाटकको निर्देशन गरि सकेका उनी ७ वर्ष देखि दमकको कदम थिएटरमा कला निर्देशकको जिम्मेवारीमा छन् ।

यस थिएटरमा नयाँ पुस्तालाई लक्षित गरि ३ महिने नाट्य अभ्यास कक्षा चल्दैछ । नाटकलाई पेशा बनाएर आफ्नो भविष्य खोज्छु भन्नेहरुका लागि पहिलो आधार हुन सकोस भनेर ३ महिनाको अभिनय कार्यशाला शुरु गरेको उनले बताए । नाट्य अभ्यासको औपचारीक कक्षाको पूर्वी नेपालमा अभाव भई रहेका बेला शुरु भएको यो कार्यशालामा नाट्य रुची गर्नेहरुको आकर्षण पनि राम्रै देखिएको छ ।

अभ्यास कक्षाका लागि ५१ जनाले आवेदन दिए पनि १९ जनालाई छनौट गरि कक्षा सञ्चालन गर्ने उनले जनाएका छन् । त्यसो त यस अघि पनि थिएटर मार्फत मञ्चित विभिन्न नाटकमा अभ्यास गरेर एक दर्जन भन्दा बढि नयाँ कलाकार यहाँ उत्पादन पनि भई सकेका छन् ।

जोडिदै मोफसल–काठमाडौ
काठमाडौमा केन्द्रित रंगमञ्चिय गतिविधिहरु अचेल देशका विभिन्न शहरमा विस्तारीत हुने क्रममा छ । पूर्वमा दमक समेत यसको अगुवाईका लागि अग्रसर भएको छ । नेपाली सिने क्षेत्रमा लामो अनुभव लिएका कलाकार हेमन्त बुढाथोकीको अध्यक्षतामा स्थापित कदम मार्फत हुने विभिन्न गतिविधिमा काठमाडौ केन्द्रित स्थापित कलाकारहरु पनि बाक्लै गरि यहाँ पुग्ने गरेका छन् ।

तीनै तहका सरकारको समन्वयमा थिएटरको सेउपाखा नाटक घर समेत निर्माणाधिन छ । नाटक घर र थिएटरलाई देश जोड्ने एउटा साझा थलोको रुपमा विकास गर्ने लक्ष्य रहेको सिजन बताउँछन् । उनले भने–‘हुन त, अब संघियताले के केन्द्र–के मोफसल भन्ने रहयो र । सवै ठाउँ आ आफ्ना केन्द्र बनि सके ।

तर यो नाटक घर र थिएटरलाई देशका विभिन्न क्षेत्रका भाषा, कला, साहित्य, संस्कृति आदि बारेको बहस र थलफल गर्ने थलो बनाउने तथा नाट्कर्मी–कलाकर्मीहरुलाई अभ्यास गर्ने स्थानको रुपमा विकास गराउन हामीले चाहेका छौं । म त खास केहि होईन ।यसका लागि हाम्रो नेतृत्व र टिम लागि परि रहेको छ । अपेक्षा चाँहि सिंगो समाजको रहेको छ ।’

Ads

सम्बन्धित पोष्टहरू