काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले बजेट संशोधन गर्न मिल्ने तर्क गरेका छन्।
सोमबार उनले आफू अर्थमन्त्री छँदा आ.ब २०६५/६६मा सांसदको सुझाव समेटेर बजेट संशोधन गरेको नजीर रहेको बताएका हुन्।
अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट संशोधन नहुने बताइरहेको बेला पूर्वअर्थमन्त्री भट्टराईले यस्तो बताएका हुन्।
भट्टराईले बजेटमा सांसदहरूले दिएको सुझाव समेटेर संशोधन गर्न आग्रह गरे। उनले संसदलाई बिरालो बाँधेर श्राद्ध गरे जस्तो कर्मकाण्डी थलो नबनाउन आग्रह गरे।
‘संसदलाई बिरालो बाँधेर श्राद्ध गरे जस्तो कर्मकाण्डी थलो नबनाऊँ ! बजेटमा सांसदहरूले दिएको सुझाव समेटेर संशोधन गर्न गजबले मिल्छ! मैले २०६५/६६मा अर्थमन्त्री छँदा सुझाव समेटेर संशोधन गरेको नजीर पनि छ।’भट्टराईले थपे, ‘यदि बिरालो बाँध्नै पर्ने नियम कतै छ भने बिरालोलाई फुकाएर छाड्ने अधिकार सार्वभौम संसदलाई छँदैछ !’
नेकपा एमाले, रास्वपा, राप्रपा, जसपा, नेकपा एसले अहिलेको बजेट यथास्थितिमा पास गर्न नसकिने बताउँदै संशोधन गर्न माग गर्दै आएका छन्।
प्रतिक्रिया दिनुहोस्