खबर पोष्ट विशेष संवाददाता
काठमाण्डौ । त्यसो त प्रमुख प्रतिपक्षी दल एमालेले वर्तमान सरकारलाई परमादेशको सरकार भन्दै टिप्पणी गर्ने गरेको छ । त्यस्तै सत्तागठबन्धनलाई अपवित्र गठबन्धन भन्दै आलोचना गर्ने गरेको छ ।
गठबन्धनको औचित्य र परिणामबारे नागरिक समाजका अगुवाहरुकोबीचमा पनि पक्ष र बिपक्षमा अनेक टिकाटिप्पणी भईरहेका छन् । स्वयं सरकार नेतृत्वको दल नेपाली काँग्रेसका कयौं सकृय नेताहरुले पनि बेला–बेला गठबन्धनको निरन्तरतामा प्रश्न उठाउने गरेका छन् ।
पछिल्लो पटक सामाजिक सञ्चालमा चर्चा छ, प्रजातन्त्रवादी नेता निलाम्बर आचार्यको यौटा स्टाटस । नेपाली काँग्रेसका बरिष्ठ र त्यागी नेता आचार्यले आफ्नो स्टाटसमा गठबन्धनको अस्तित्वमाथि प्रश्न उठाउँदै भनेका छन् :
यस्तो गठबन्धन
जहाँ विचारको गठ हुँदैन
निष्ठाको गठ हुँदैन
कार्यक्रमको गठ हुँदैन,
कार्यदिशाको गठ हुँदैन….
२०१९ सालदेखि राजनीतिमा लागेका आचार्यमा वाम र प्रजातान्त्रिक राजनीतिबारे लामो अनुभव र योगदान छ । वाम राजनीति हुँदै कांग्रेसको राजनीतिमा योगदान गरेका आचार्य स्व. कृष्ण प्रसाद भट्टराई नेतृत्वको अन्तरिम सरकारमा वाममोर्चाका तर्फबाट कानुन तथा न्यायमन्त्री बनेका थिए । पछि २०४८ सालमा उनी नेपाली काँग्रेसमा प्रवेश गरे ।
भारत, श्रीलङ्का लगायतका देशका राजदूत बनिसकेका उनी कांग्रेसको तर्फबाट संबिधान सभा सदस्य तथा संविधान सभाको संवैधानिक समितिको सभापति समेत बनेका थिए ।
उनी अहिले पनि अध्ययन,बिश्लेषण र खवरदारीमा सक्रिय छन् ।
एमसीसी लगायत अनेक प्रकरण र प्रसंगहरुमा गठबन्धनभित्र बन्धन नभएका टिप्पणीहरुबीच उनले आफ्नो धारणा सार्वजनिक गरेका छन् । पढौं उनको स्टाटस जस्ताको तस्तै :
यस्तो गठबन्धन
जहाँ विचारको गठ हुँदैन
निष्ठाको गठ हुँदैन
कार्यक्रमको गठ हुँदैन,
कार्यदिशाको गठ हुँदैन
कार्यपथको गठ हुँदैन
कार्यगतिको गठ हुँदैन
र कुनै बन्धन पनि हुँदैन ;
त्यस्तो गठबन्धनको
अर्थ के होला ?
जोड्ने जोडन के होला ?
बाँध्ने डोरी के होला ?
ट्वीटर,फेसबुक लगायतका सामाजिक सञ्जालहरुमा सकृय उनले त्यस्ता माध्ययमहरुबाट बेथितीविरुद्ध निरन्तर खवरदारी गरिरहेका हुन्छन् ।
स्थानीय निर्वाचनको मिति घोषणामा ढिलाई भइरहेको संकेत गर्ने उनको ताजा स्टाटस यस्तो छ :
मानिस के भन्छन् ?
सञ्चारमाध्यम भन्दिनँ
सामाजिकसञ्जाल भन्दिनँ,
यताका वा उताका वकील हैन
यहाँ वा त्यहाँ संलग्न बुद्धिव्यवसायी हैन
हौसिएको वा ठुस्सिएको आशामुखी हैन,
आम मानिस के भन्छन् त्यो सुन
चुनावमा के भन्लान् त्यो गुन।
गुन्दैनौ नगुन
चुनाव पन्छाउने तानाबाना भने नबुन ।
नेपालको संसद लामो समयदेखि नचलेकोमा पनि उनको चिन्ता छ । सदनकै सभामुखले मूल संसदीय अभ्यास गर्न नमान्दा यस्तो भएको उनको धारणा छ । र,आपत्ति । सामाजिक सञ्जालमा उनले लेखेका छन् :
यहाँ कतिपय कुरा ठीकसंग चलेको छैन।
घडी त चलेको छ तर समयमा गति छैन।
सदनकै सभामुखले
मूल संसदीय अभ्यास गर्न नमान्नु
बैठक स्थगित गरिरहनु
आश्चर्यजनक छ।
एमसीसी बहस सदनमा गर्न नदिई
संसदलाई छल्नु
दुर्भाग्यपूर्ण छ।
आइसकेको स्थानीय निर्वाचनविरुद्ध
नानाथरी बाधा तेर्स्याउनु
आपत्तिजनक छ।
आइतबार एक प्रसिद्ध भारतीय गायीका लता मङ्गेशकरको निधन भयो । नेपाली भाषाका अनेक गीत समेत गाएकी लतालाई श्रद्धाञ्जलि व्यक्त गर्दै भारतीय पूर्व राजदूत आचार्यले पछिल्लो स्टाटस लेखेका छन् :
लता मङ्गेशकर, बिदा भयौ। भारतीय मित्रहरूसंगै हामी पनि दुःखी छौं तिमीलाई गुमाउँदा।
तिम्रो स्वर तिम्रो गायनले संगीतलाई दिएको समृद्धि र मानिसलाई दिएको आनन्द अविस्मरणीय छ।
मानिस श्रद्धापूर्वक संझिरहनेछन् तिम्रो नाम।
श्रद्धाञ्जलि तिमीमा र समवेदना तिम्रा सबै प्रशंसकहरूमा।
प्रतिक्रिया दिनुहोस्