Ads

संयुक्त राष्ट्र सङ्घका उपमहासचिव जिन–पियरे ल्याक्रोइक्स नेपाल आउँदै


काठमाडाैं । संयुक्त राष्ट्रसङ्घको शान्ति कार्य विभाग हेर्ने उपमहासचिव जिन–पियरे ल्याक्रोइक्स नेपालको चार दिवसीय भ्रमणका लागि आज नेपाल आउँदैछन् । नेपाल भ्रमणका क्रममा उनले प्रधानमन्त्री, उपप्रधान एवं रक्षामन्त्री र परराष्ट्रमन्त्रीसँग शिष्टाचार भेट गर्नेछन् ।

उपमहासचिव ल्याक्रोइक्सले प्रधानसेनापति, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुखसँग भेटघाटको कार्यक्रम रहेको नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए। यहाँ बसाइँका क्रममा उनी संयुक्त राष्ट्रसङ्घ र नेपाली शान्ति सेनासम्बन्धी विविध कार्यक्रममा सहभागी हुनेछन् । साथै, उनले पर्यटकीय महत्वका स्थानको अवलोकन भ्रमण गर्ने कार्यक्रम रहेको छ।

संयुक्त राष्ट्रसङ्घको विश्वशान्ति कार्यमा धेरै सेना पठाएर योगदान गर्ने मुलुकको सूचीमा हाल नेपाल दोस्रो स्थानमा छ। शान्ति सेनामा महिला सैनिक धेरै पठाउने देशमा नेपाल पहिलो नम्बरमा रहिआएको छ।

संयुक्त राष्ट्रसङ्घबाट माग भइआएको खण्डमा नेपालले १० हजार सङ्ख्यामा शान्ति सैनिक पठाउन सक्ने यसअघि  नै प्रतिबद्धता जनाइसकेको छ। संयुक्त राष्ट्रसङ्घले गत जेठ ३० देखि असार १ गतेसम्म सातौँ संस्करणको शान्ति स्थापना कार्यमा प्रविधिका लागि सहकार्यसम्बन्धी अन्तर्राष्ट्रिय सङ्घ गोष्ठी गरेको थियो । उक्त गाेष्ठीमा राष्ट्रसङ्घका सहयोग कार्यसम्बन्धी विभाग हेर्ने उपमहासचिव अतुल खेरसहितका उच्च पदाधिकारीले भाग लिएका थिए ।

Ads

सम्बन्धित पोष्टहरू