Ads

प्रकृतिको ‘ग्यालरीमा’ अशोकका खुसी


गोपाल झापाली
पशुपतिनाथ परिसमा के छैन ? धर्म, आस्था र विश्वासको धरोहर पशुपतिनाथको मन्दिर छ । भौतिक रुपमा मायाँ, प्रेम र सानिध्यता टुटेको शव पर्खिरहेको ब्रम्हनाल छ । स्वच्छता र पवित्रताको प्रतिक मानिए पनि सिंगो राजधानीको मैलो–विकार बोकेर सुसुप्त बगि रहेको बागमती छ । अर्काको हस्तरेखा हेरेर भविश्य बताउनेहरुको कारुणिक वर्तमान छ । देश विदेशबाट धर्म र मोक्ष प्राप्तिका लागि आउनेहरुको लर्को छ । प्राकृतिक वातावरणमा रमाउने र फुर्सदिलो समय विताउनेहरुका लागि फराकिलो फाँट छ । यहि विशाल क्यानभासमा अँटाएका छन्, अशोक थपलिया पनि ।

पशुपतिनाथको मन्दिर ठिक सामुन्ने, गुह्ेश्वरी तर्फ उक्लने भ¥याङ्कै बाँया पट्टि वर्षौ देखि उनी यहाँ आउने हजारौं मानिसहरुको अनुहार पढि रहेका छन् । जसरी पशुपतिनाथका सामुन्ने उनी छन्, उसैगरि आफ्ना सामुन्ने मानिसहरुलाई आधा घण्टा देखि डेढ घण्टा सम्म हलचल नगराई राख्छन् उनी । अनि ति मानिसहरुका अनुहारका रेसा–रेसा नियाल्छन्, पढ्छन् अनि दुरुस्तै उतार्छन् कागजका पानामा । तर कागजका पानामा तयार हुनु अघि ति मानिसहरुका मुहार उनको हृदयमा छापिई सकेको हुन्छ । हजारौ मानिसका मुहार मिहिन गरि पढेका उनी भन्छन्–‘कागजमा उतार्ने र स्केच बनाउने त पछि हो, त्यो भन्दा अघि त आफ्नै मनमा दुरुस्तै उतार्नु प¥र्यो नि, अनि पो बन्छ प्रोटेट ।’

डेढ दशकमा बेहिसावलाई खुसी
डेढ दशक भन्दा लामो समय भयो उनले पाशुपत क्षेत्रमा यसरी मानिसका मुहार चित्र बनाउन थालेको । जान्नेहरुका लागि त उनी बागमती–पशुपतिका अभिन्न अंग पनि बनि सके । पशुपतिको खुल्ला आँगननै उनको कार्यालय हो । प्राकृतिक हरियाली, बाँदरको हुल हुज्जत, मानिसहरुको ओहोर दोहोरका विचमा पनि जसरी एकनासले विना आवाज, विना होहल्ला बागमती निरन्तर बगि रहेको छ, उसै गरि अशोक पनि चुपचाप यहि बसेर चित्र कोरि रहेका छन् ।

एकै स्थानमा डेढ दशक भन्दा लामो देखि देखि आफ्नो श्रृजनामा रमाई रहँदा उनलाई यहि स्थाननै आफ्नो कार्यालय जस्तो लाग्छ । जसरी अरु कार्यालय जानेहरु बिहान ९ बजे तिर लाग्छन् र ५ बजे तिर फर्कन्छन्, उनको पनि नियमित समय तालिका यहि हो । आफुले बनाएको चित्र हेरेर खुसीहुनेहरुको अनुहार देख्दा भने उनलाई ति मानिसहरु भन्दा खुसि लाग्छ । उनले भने–‘मानिस गम्भिर भएर मेरा अघि बसेको हुन्छ, उसलाई हेर्दै हेर्दै चित्र बनाई रहेको हुन्छु ।

जव चित्र पूरा गरेर उसलाई दिन्छु नि, त्यस बेला उसको ‘ओहो, कस्तो दुरुस्तै’ भन्दा अनुहारमा झल्कने खुसीले उसले दुरुस्तै भनेको आफ्नो चित्र भन्दा भिन्न अनुहार बनाई सकेको हुन्छ । त्यस बेला मलाई असाध्यै खुसी लाग्छ ।’ उनले जसको चित्र बनाउँछन्, उहि खुसी हुन्छ र खुसी साथ उनको कलाको मुल्य भुक्तान गर्छ । यसरी उनले कतिलाई खुसी पारि सके होला त ? उनको उत्तरले यकिन त भन्दैन तर १५ हजार नाघे होला ।

जति हण्डर, उति दह्रिलो
उनको सम्झनामा भए सम्म पहिलो चित्र कक्षा ३ मा पढ्दा कोरेका थिए । त्यो वालपनमा कोरीएको चित्रले अनौठो भाव वोकेको थियो । गहिराईको विम्बको रुपमा ईनार थियो र उचाईको विम्ब आकाशमा उड्दै गरेको हवाई जहाज । ति दुवैको माझमा उडेका थिए केहि चराहरु । उनको जीवन त्यहि पहिलो चित्र जस्तै छ । अभाव र पीडा ईनार भन्दा गहिरो पनि छन् र सफलता र सुख भोग क्रमिक रुपमा आकाश तिर अग्लो हुँदै गएको छ । चित्रकलाबाटै काठमाडौमा जग्गा किने, घर बनाए, सन्तानलाई पढाई रहेका छन् । ईनारको गहिराईको अभाव बाट शुरु भएको उनको चित्रकला आकाशको हवाई जहाज जस्तै सररर उडि रहेको छ अचेल ।

बुवाले दोश्रो विवाह गरे पछि आमा सहित उनको सम्वन्ध परिवारबाट अलग भयो । आमाले उनलाई नाङ्लोमा केहि समान राखेर व्यापार गर्दै हुर्काईन् । जव उनले परिवारको अभाव र पीडा बुझे पनि आमासँग आर्थिक समस्या समाधानमा साझेदारी पनि गर्न थाले । विहानै बागबजारबाट पत्रिकाको बिटो बोकेर महानगरको फन्को मार्थे । त्यसले पढ्न र घरको गर्जो टार्न राहत भयो । तर त्यो काम लामो समय सम्म चलेन । केहि रकम जम्मा भए पछि हात भरि अँट्ने घडी किने र डुलाएर बेच्ने थाले । तर गुजराका लागि विभिन्न विकल्पको सहारा लिए पनि मन भित्र बाल्यकाल देखिको चित्रकला प्रतिको मोह ननिस्कने खिल बनेर गढेको थियो ।

त्यसैले उनले एसएलसी पछिको अध्ययन्मा ललितकला क्याम्पसमा चित्रकला रोजेर अध्ययन् अघि बढाए । उनले भने–‘कयौ पटक त आमाको नाङ्लाको पसलबाट पनि थाहै नपाई पैसा निकालेर कापि–पेन्सिल किन, चित्र बनाउनकै लागि । त्यस बेलाको दुःखबाट भागेको भए सायद मेरो हाल के हुन्थ्यो मै भन्न सक्दिन । तर अहिले लाग्छ, मान्छेले जति हण्डर खायो उतिनै दह्रो पनि हुँदै जाँदो रहेछ । अहिले मलाई आफ्नै चित्रकारीता र संघर्षले यो काठमाडौमा दह्रो गरि उभ्याएको महसुस् हुन्छ ।’

बाँदर देखि बादल सम्मको हैरानी
अचेल उनी सामान्यता एउट मुहार चित्र बनाएको ३५० रुपैयाँ लिन्छन् । दिनमा सरदर ८÷१० जनाको चित्र बनाउँछन् । कुनै दिन १५ ओटा सम्म बनाए । तर अवस्था सधै एकनास हुँदैन । भुकम्प अघि जस्तौ धपेडी अचेल घटेको छ । कोरोना र त्यस पछिको आर्थिक मन्दीको प्रभाव उनले पनि गरेका छन् । ‘खै अचेल पहिला जस्तो अलिक छैन हौ, मान्छेहरु आउन त आउँछन् तर भुकम्प अघिको जस्तो धेरै चाँहि आउँदैनन्’ उनले अनुभव सुनाए–‘कोरोनाको बेला त ठप्पै भई हाल्यो । केहिले घरैमा फोटा पठाई दिनु भयो र केहि बनाएँ तर त्यस अघि कमाएको अलि अलि थियो र परिवार चल्यो नत्र गाह्रो हुने रहेछ ।’

उनको चित्रकारीताका लागि ठुलो भारि बोक्नु पर्दैन । साना फलामे दुई थान टुल, केहि पेन्सिल र ब्रस अनि आर्ट पेपर लिएर उनी पाशुपत क्षेत्र पुग्छन् । तर त्यहाँ झुत्ति खेल्ने बाँदर र बेटुङ्गाले बर्सिने बादलको हैरानीले चाँहि सताउने गरेको छ । ‘कहिले त बाँदरको हुलै आउँछ र पेन्सिल, ईरेजर सवै लिएर जान्छ कम्ता गाह्रो हुँदैन’ अर्को पनि समस्या सुनाए–‘आकाशमा बादल लाग्यो कि मन अँध्यारो हुन्छ । मेरो कुनै कार्यालय र ओत लाग्ने ठाउँ नभएकाले पानी तप्किन थाल्यो कि कारोवार बन्द गर्नु पर्छ । अब वर्षा लाग्न आँट्यो यो बेला काम हुँदैन ।’

साना सपना, ठुलो मेहनत
उनको ठुलो सपना केहि छैन । चित्रकारीतालेनै उनलाई काठमाडौमा घरपति बनाएको छ । अब यसैलाई निरन्तरता दिँदै सन्तानको सुखकालागि आधार बनाई दिन सके महत्वपूर्ण जिम्मेवारी पूरा हुने उनले ठानेका छन् । उनको आफ्नै शुत्र छ, सपना सानो देख्ने तर मेहनत ठुलो गर्ने । एकजनाको चित्र कोरिएको करिव ३० मिनेटमा वरिपरि रमिता हेर्नेको पनि भिड थियो । त्यहि भिडबाट प्रकट हुने कतिपय प्रश्नहरुलाई उत्तर दिँदा उनका आँखा र हात सँगै मुख पनि चलि रहेको थियो ।

उनले भने–‘मैले उहिलेनै ठुला सपना देखेर धेरै कमाउन खोजेको भए म कुन देश पुगि सकेको हुने थिएँ, कहाँ चित्रकार हुने थिएँ र ? तर खान लाउन पुगे हुन्छ भनेर चित्र बनाउन थाले पुग्दै गयो, त्यस पछि परिवारको गर्जो टरे हुन्थ्यो भने पुग्दै गयो । जमिनको सपना देखेँ, पुग्यो । घरको सपना देखेँ त्यो पनि भयो । भने पछि साना साना सपनाहरु देख्दै पूरा गर्दै गयो भने त ति सवै सफलता जोड्दा ठुलो भैहाल्छ नि । मलाई यसैमा आनन्द छ ।’

जहाँ खुसी, त्यहाँ कर्म
केहि विद्यालयमा बालबालिकाहरुलाई कुची र रंग खेलाउन सिकाउँदै आएका उनीसँगै सिकेका कतिपयले चित्रकला प्रदर्शनी समेत गरि सके । चित्रकारको रुपमा नाम र मान छ उनीहरुको । तर उनलाई त्यो दुनियासँग मतलवै छैन । ‘मेरो त यहिँ दैनिक लाईभ चित्रकारीता र पेन्टिङ् हुन्छ नि, सयौले हेर्छन् । यहि भैगो नि प्रदर्शनी । बन्द कोठामा बनाईएका चित्र झुण्ड्याएर के प्रदर्शनी गरि रहनु पर्यो र ?’

प्रश्नसँगै उनले अनुभूती पनि सुनाए–‘ठुला भनिएका प्राय सवै नेताहरुलाई उहाँहरुको आफ्नै चित्र बनाएर उपहार पनि दिएको छु । मैले चित्र बनाउँछु भन्ने धेरैलाई थाह पनि भई सक्यो तर मान, पद र तक्माका लागि मैले काम गरेको होईन मैले जहाँ खुसी भेट्छु त्यहिँ कर्म गर्छु । अहिले सम्म यहि पशुपतिको प्राङ्गण र यो प्रकृतिको खुल्ला ग्यालरीनै मेरा लागि खुसी हो ।’

Ads

सम्बन्धित पोष्टहरू