काठमाडौं । शेयर बजार पाँच महिनायताकै उच्च विन्दुमा पुगेको छ । शेयर बजार परिसूचक नेप्से आज मङ्गलवार ५६ दशमलव ९४ अङ्कले बढेर दुई हजार एक सय ८६ दशमलव ३६ विन्दुमा पुगेको हो । यसअघि गएको माघ १५ गते नेप्से २१ सय ९२ विन्दुमा पुगेको थियो ।
आज उत्पादन, व्यापार र निर्जीवन बीमा समूहको शेयर सामान्य घटे पनि अरू सबै समूहको शेयर बढेको छ । लघुवित्त समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । दुई सय ७५ वटा कम्पनीका एक करोड ३१ लाख सात हजार कित्ता शेयर पाँच अर्ब ४७ करोड ६२ लाख रुपैयाँमा कारोबार भएका छन् ।
सबैभन्दा धेरै स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको २५ करोड १२ लाख रुपैयाँको शेयर किनबेच भएको छ । आज ३३ वटा कम्पनीको शेयर १० प्रतिशतले बढेर सर्किट लागेको छ । यसमध्ये ३० वटा लघुवित्त कम्पनी छन् । समग्रमा बजार बढेको दिन आज सिकलेस हाइड्रोपावर कम्पनीको शेयर झन्डै चार प्रतिशतले घटेको छ ।
प्रतिक्रिया दिनुहोस्