Ads

आशिष चाैधरीको गोलमा नेपालको सान्त्वना जित


काठमाडाैँ । आशिष चौधरीले दोस्रो हाफमा गरेको गोलमा नेपालले साफ च्याम्पियनसिप २०२३ मंगलबार पाकिस्तानलाई १–० ले हराएको छ ।

भारतको बैग्लोरस्थित श्री कान्तिरभा स्टेडियममा नेपालले पाकिस्तानलाई १–० गोल अन्तरले पराजित गरेको हो । लाकेन लिम्बूले यो गोलका लागि अवसर सिर्जना गरे । आशिषले पेनाल्टी एरियाको ठीक बाहिरबाट शक्तिशाली प्रहार गर्दै गोल गरे ।

यो नतिजापछि नेपालको तीन अंक भएको छ भने पाकिस्तान शून्य अंकमा रह्यो । पाकिस्तानको यो लगातार १२औं हार हो । पाकिस्तान पछिल्लो पाँच वर्षयता लगातार पराजित रहेको छ ।

प्रतियोगितामा भने आफ्नो अन्तिम खेल अगाडि नै नेपाल र पाकिस्तान दुवै सेमिफाइनल पुग्ने सम्भावनाबाट वञ्चित भइसकेका थिए । त्यसैले यो प्रतिष्ठाको लडाइँ मात्र रहेको थियो । आशिषको गोल अगाडि नेपालले केही अवसर सिर्जना गरे पनि त्यो निर्णायक सावित हुने सकेन । विमल घर्ती मगरले ४१औं मिनेटमा गरेको प्रहार पाकिस्तानी गोलरक्षक युसुफ बटले रोके ।

यस्तै नवयुग श्रेष्ठले ५१ औं मिनेटमा नजिकको दूरीबाट गरेको हेडले पोस्टका दिशा लिन सकेन । नेपालको सबैभन्दा राम्रो मौका भने देवेन्द्र तामाङले बनाए । उनले ६८औं मिनेटमा गरेको फ्रि–किक प्रहार पोस्टमा लागेर फर्केको थियो । यस्तै एरिक विष्टले ७२औं मिनेटमा गरेको अर्को फ्रि–किक पोस्टमा लागेर बाहिरिएको थियो । पाकिस्तानले भने पूरा खेल अवधिमा कुनै उल्लेखनीय आक्रमण बुन्न सकेन ।

Ads

सम्बन्धित पोष्टहरू