Ads

चालु आर्थिक वर्षमा सरकारको आम्दानी र खर्च अत्यन्तै न्यून


काठमाडौँ । चालु आर्थिक वर्ष २०७९/८० को ११ महिनामा सरकारको आय ६० प्रतिशत र व्यय ६५ प्रतिशत बराबर मात्रै देखिएको छ । शुरुवाती विनियोजित लक्ष्यको तुलनामा जेठ मसान्तसम्मको सरकारी आम्दानी र खर्च निकै न्यून हो ।
महालेखा नियन्त्रक कार्यालयको जेठ मसान्तसम्मको तथ्याङ्कअनुसार यो अवधिसम्ममा बजेट खर्च ११ खर्ब ७६ अर्ब छ करोड ५७ लाख बराबर छ।

जुन चालु आर्थिक वर्षको शुरुवाती विनियोजनको ६५ दशमलव ५६ प्रतिशत बराबर हो । चालु आर्थिक वर्षका लागि सरकारले कुल १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख बराबरको बजेट ल्याएको थियो । जेठ मसान्तसम्मको चालुतर्फको खर्च शुरुवाती विनियोजनको ७४ दशमलव १५ प्रतिशत बराबर छ ।

चालु आर्थिक वर्षका लागि चालतर्फ ११ खर्ब ८३ अर्ब २३ करोड ५१ लाख बराबर बजेट विनियोजन भएकोमा जेठसम्म आठ खर्ब ७७ अर्ब ३९ करोड ४४ लाख खर्च भएको छ। त्यस्तै, पुँजीगत शीर्षकमा तीन खर्ब ८० अर्ब ३८ करोड ४५ लाखको वार्षिक बजेट रहेकोमा जेठ मसान्तसम्ममा ४० दशमलव २४ प्रतिशत अर्थात एक खर्ब ५३ अर्ब आठ करोड ४२ लाख बराबर खर्च भएको छ।

वित्तीय व्यवस्थापनतर्फ दुई खर्ब ३० अर्ब २१ करोड ७७ लाख वार्षिक बजेट विनियोजन भएकोमा जेठ मसान्तसम्ममा शुरुवाती विनियोजनको ६३ दशमलव २४ प्रतिशत अर्थात एक खर्ब ४५ अर्ब ५८ करोड ७१ लाख बराबर खर्च भएको छ।   जेठ मसान्तसम्मको राजस्व सङ्कलन पनि लक्ष्यभन्दा निकै न्यून छ । यो अवधिसम्मका सरकारको

कुल राजस्व प्राप्ति वार्षिक लक्ष्यको ६० दशमलव ३६ प्रतिशत अर्थात आठ खर्ब ८० अर्ब ३८ करोड ७९ लाख बराबर छ। सरकारले चालु आर्थिक वर्षका लागि १२ खर्ब ९५ अर्ब ३७ करोड ५८ लाख कर राजस्व, एक खर्ब सात अर्ब ७७ करोड १२ लाख गैरकर राजस्व र ५५ अर्ब ४५ लाख ८३ करोड वैदेशिक अनुदान लिने लक्ष्य राखेको थियो।

जेठ मसान्तसम्मको कर राजस्व सङ्कलन लक्ष्यको ५८ दशमलव ५९ प्रतिशत अर्थात सात खर्ब ५९ अर्ब, गैरकर राजस्व सङ्कलन ७२ दशमलव २४ प्रतिशत अर्थात ७७ अर्ब ८५ करोड ३७ लाख र वैदेशिक अनुदान आठ दशमलव ६६ प्रतिशत अर्थात चार अर्ब ८० करोड २० लाख बराबर छ। यसरी सरकारको आयभन्दा व्यय धेरै हुँदा जेठ मसान्तसम्मको बजेट घाटा दुई खर्ब ९५ अर्ब ६७ करोड बराबर छ।

दुई पटक संशोधन गर्दा पनि लक्ष्य भेटिनेमा शङ्का    

सरकारले गत जेठ १५ मा आगामी आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेट प्रस्तुत गर्दै दोस्रोपटक बजेट संशोधन गरेको थियो । सरकारले चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक समीक्षामार्फत पनि बजेट खर्चको अनुमान संशोधन गरेको थियो ।

दोस्रो पटकको संशोधित लक्ष्यअनुसार चालु आर्थिक वर्षमा सरकारले १५ खर्ब चार अर्ब ९९ करोड अर्थात् शुरुवाती विनियोजनको ८३ दशमलव ९० प्रतिशत मात्रै बजेट खर्च हुने अनुमान गरेको छ । संशोधित लक्ष्य भेटाउनका लागि सरकारले चालु आर्थिक वर्षको अन्तिम महिना अर्थात असारमा मात्रै तीन खर्ब २९ अर्ब बराबर बजेट खर्च गर्नुपर्ने देखिएको छ।

Ads

सम्बन्धित पोष्टहरू