लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले दुई मन्त्रालयको नाम फेरेको छ। बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेशमा रहेको आन्तरिक मामिला, कानून तथा सहकारी मन्त्रालयको नाम परिवर्तन गरेर गृह मन्त्रालय बनाउने निर्णय गरेको छ। त्यसैगरी आर्थिक मामिला मन्त्रालयको नाम परिवर्तन गरेर अर्थ मन्त्रालय बनाउने निर्णय भएको सरकारका प्रवक्ता तथा आन्तरिक मामिलामन्त्री सन्तोषकुमार पाण्डेले जानकारी दिए।
मन्त्रिपरिषद् बैठकले करार कर्मचारी व्यवस्थापन कार्यविधि, २०८० को पहिलो संशोधन गर्ने निर्णय गरेको छ। बैठकले लुम्बिनी प्रदेशको स्वामित्वमा रहेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरलाई दुई सय शय्याको अस्पताल बनाउने गरी कर्मचारी व्यवस्थापनको स्वीकृत प्रदान गर्ने निर्णय गरेको पनि मन्त्री पाण्डेले जानकारी दिए।
यता सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेट प्रदेशसभामा प्रस्तुत गरेको करिब दुई हप्तापछि बुधबारका लागि आह्वान गरेको प्रदेशसभाको बैठक विपक्षी दलको विरोधका कारण स्थगित भएको छ। बैठकको प्रारम्भमै नेकपा (एमाले) ले बजेटउपर विरोध जनाएपछि छलफल नै नगरी बैठक १७ गतेसम्मका लागि स्थगित भएको छ।
यसअघि असार १० गते छलफलका लागि आह्वान गरिएको बैठक बजेटमा सहमति जुट्न नसकेपछि बुधबारका लागि सारिएको थियाे। प्रदेश सरकारले प्रस्तुत गरेको बजेट पूर्वाग्रही र बेथिति निम्त्याउने खालको रहेको भन्दै प्रमुख प्रतिपक्षी एमालेले संशोधन नगरी पास हुन नदिने बताएको छ।
प्रतिक्रिया दिनुहोस्