काठमाडौँ । ललितपुर जिल्ला अदालतमा एक जना महिला कर्मचारीमाथि कुटपिट भएको छ । बुधबार अपराह्न साढे ४ बजे जिल्ला अदालतकी नायब सुब्बा प्रेमिका तामाङमाथि काठमाडौं-१४ का ३६ वर्षीय अमिर लामिछानेले कुटपिट गरेका हुन् । वकिलसमेत रहेका लामिछानेले कर्मचारीलाई कुटपिट गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको छ ।
उनलाई बुधबार नै पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी शिद्दिविक्रम शाहले जानकारी दिए। अमिरविरूद्ध पीडित तामाङले अभद्र व्यवहार मुद्दामा जाहेरी दिएकी छन् । अमिर दुषित लिखतसम्बन्धी एक मुद्दाका वारेस भएर अदालतमा उपस्थित भएका थिए । उनी तारेख लिन अपराह्न साढे ४ बजेतिर नासु प्रेमिकाको फाँटमा पुगेका थिए ।
‘उनि वारेस हुनुहुँदो रहेछ। पेशी २० गतेको लागि दिएको थिएँ । साढे ४ बजेको समयमा काम एकदम चाप हुन्छ। मिसिलहरू झर्ने भएकाले सबैलाई तारेख दिनुपर्ने हुन्छ,’ पीडित प्रेमिकाले भनिन्, ‘त्यही बेला उनले भीड भइरहेको ठाउँमा बसेर मिसिल अध्ययन गर्न थाले ।’
प्रेमिकाले फाँटमा भीड भएकाले उनलाई मिसिलको फोटोकपी लिएर अन्तै गएर अध्ययन गर्न अनुरोध गरेकी थिइन् ।त्यसपछि अमिरले आफूले हेर्न नपाउने भन्दै झर्किएको उनले बताइन् । फोटोकपी लगेर अध्ययन गर्न भनेपछि भने अमिरले आफू स्रेस्तेदार कहाँ जाने बताएका थिए । स्रेस्तेदारसँग भेटेर फेर्केपछि पनि अमिरले पुन: मिसिल माग गरेका थिए । तर फोटोकपी दिने बताउँदा आफूमाथि कुटपिट गरेको उनले बताइन् ।
‘म मिसिल दिन्न तर तपाईंलाई चाहिन्छ भने म फोटोकपी उपलब्ध गराउन सक्छु भनेर भनें,’ उनले भनिन्, ‘त्यसो भए मलाई मिसिल हेर्न नदिने हैन त भने । फोटोकपी मात्रै उपलब्ध गराउन सक्छु मिसिल नै दिए त मेरो जागिर जानसक्छ भनेपछि उनले कुटे ।’‘तँ धेरै जान्ने हुन्छेस्, तँ को होस्’ भनेर अमिरले गालीगलौज गरेको उनले बताइन् । ‘मलाई किन तँ भनेर यसरी गाली गरेर बोलेको भन्दा उनले हिर्काए । मुक्काले नै हिर्काए ,’ उनले भनिन्,‘दुईटा दाँत हल्लिएको छ।
मुखमा चोट लागेको छ । तान्दा कपडा च्यातिएको छ ।’कुटपिट भएपछि उनले मेडिकल गएर जाँच गराएकी छन् । घटना पछि आफूलाई तनाव भएको उनले बताइन् । त्यत्रो भीडमा ममाथि कुटेपछि मलाई सह्य नै भएन । एकदम धेरै तनाव भयो,’ उनले भनिन् । आरोपित अमिरले भने अदालतको निर्णय हेर्न नदिएको भनेर प्रहरीसमक्ष बताएका छन् । शुक्रबार जिल्ला प्रशासन कार्यालयमा पेश गरी उनीमाथि म्याद थप गर्ने तयारी रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्