काठमाडौँ । सरकारले ‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधिः धान उत्पादनमा वृद्धि’ भन्ने मूल नाराका साथ आज २०औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव गर्ने भएको छ। कृषि विभागका महानिर्देशक हरिबहादुर केसीको अध्यक्षतामा बसेको मूल समारोह समितिको बैठकले २०६१ सालदेखि मनाइँदै आएको धान दिवस तथा रोपाइँ महोत्सव यस वर्ष पनि मनाइने भएको हो।
धान नेपालको प्रमुख खाद्यान्न बाली र खाद्य सुरक्षाको प्रमुख आधार रहेको बाली विकास तथा कृषिजन्य विविधता संरक्षण केन्द्रले जनाएको छ। आर्थिक, सामाजिक, सांस्कृति र धार्मिकलगायतको महत्व रहेको धानबालीलाई एउटा बालीका रूपमा मात्र नभई औसत नेपालीको जीवन पद्दतिका रूपमा हेरिने गरिएको छ। धानको यीनै विविध महत्वलाई दृष्टिगत गरी उत्पादन वृद्धि एवं आधुनिकीकरण र व्यवसायिकीकरण गर्न दिवस बनाउन लागिएको कृषि विभागले जनाएको छ।
नेपालमा धानखेतीका लागि तराई र भित्री मधेस तथा पहाडका फाँटलाई उर्वरभूमि मानिन्छ। पछिल्लो समय उन्नत जातको धानखेतीका लागि सरकारले कृषकलाई प्रोत्साहन गरेको छ भने रैथाने पुराना बीउ प्रवर्द्धनमा पनि जोड दिँदै आएको छ।कृषक र अन्य पक्षलाई यस्ता विषयमा सचेत र जागरुक तुल्याइ धान उत्पादन एवं उत्पादकत्व बढाउन यस वर्षको नाराले सन्देश दिने अपेक्षा गरिएको छ।
प्रतिक्रिया दिनुहोस्