Ads

नेपाली युवा पाण्डेले गरे युरोपको सर्वोच्च शिखर एलब्रस हिमालको सफल आरोहण


काठमाडौं । नेपाली युवा प्रकाशराज पाण्डेले युरोपको सर्वोच्च शिखरको सफलतापूर्वक आरोहण गरेका छन् । यही जुन २८ र २९ तारिखमा पाण्डेले रुसमा रहेको एलब्रस हिमालको दुईपटक सफल आरोहण गरेका हुन् । सातै महादेशका उच्च हिमशिखरहरुको आरोहण गरी सेभेन समिट पूरा गर्नेमा नयाँ किर्तिमान कायम गर्ने अभियानमा रहेका पाण्डे जुन २१ तारिखमा रुस प्रस्थान गरेका थिए ।

एलब्रस हिमाल युरोपको सबैभन्दा अग्लो चुचुरो हो । रुसको दक्षिणी भेगमा ककेशश हिमश्रृंखलामा पर्ने यो हिमाल सात महादेशका अग्ला हिमाल मध्येको एक हो । चतुर ट्रेक तथा एक्सपिडिसनले आयोजना गरेको यो अभियानमा पाण्डेको गाइड आरोही चतुर तामांग रहेका थिए । जुन २९ को बिहान ९ बजे पाण्डेले एलब्रुस ईस्टको पनि सफल आरोहण गरेका थिए । पाण्डेले एलब्रुसको शिखरमा चन्द्र सूर्य अंकित नेपाली झण्डा फहराउनुका साथै नेपाल स्काउट तथा अन्य संघसंस्थाको झण्डा समेत फहराएका थिए ।

हिमाल आरोहणमा सातै महादेशका उच्च हिमशिखरहरुको आरोहणलाई विशेष मानिन्छ जसलाई सेभेन समिट भनिन्छ । पर्वतारोहणमा रहेका हजारौं आरोही मध्येमा निकै कम आरोहीले मात्रै यो सफलता आत्मसाथ गर्न सकेका छन् । युरोपको हिमाल आरोहण पश्चात यसै अभियान अन्तर्गत अफ्रिकाको तान्जानियामा रहेको किलिमान्जारो हिमाल आरोहणका लागि प्रस्थान गर्ने पाण्डेले बताएका छन् ।

नेपाली युवा आरोही पाण्डेले सगरमाथासहित मनास्लु, आमादब्लम र आइल्याण्ड पिक हिमालको समेत आरोहण गरिसकेका छन् । सन् २०१६ देखि आरोहण शुरु गरेका पाण्डेले २०१८ मा सगरमाथाको आरोहण गरेपश्चात नियमित हिमाल चढिरहेका छन् । उनले २०१९ मा किलर माउन्टेन भनेर चिनिने मनास्लु हिमालको आरोहण गरेका थिए ।

नेपाल स्काउटका सदस्यसमेत रहेका पाण्डेले विश्व स्काउट अभियानका संस्थापक बेडेन पावेलको नाउँमा रहेको बेडेन पावेल स्काउट पिक दुईपटक आरोहण गरिसकेका छन् भने विदेशी स्काउटहरुलाई समेत उक्त हिमालको सफल आरोहण गराउन सफल रहेका छन् ।

Ads

सम्बन्धित पोष्टहरू