Ads

ललिता निवास प्रकरण: आयोगका प्रमुख आयुक्त बस्न्यातविरुद्ध पक्राउ पुर्जी जारी


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दीप बस्न्यातविरुद्ध अदालतबाट पक्राउ अनुमति जारी गरिएको छ । जिल्ला अदालत काठमाडौँले बस्न्यातलाई पक्राउ गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) लाई अनुमति दिएको हो ।  बस्न्यात फरार रहेका अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरूले बताएका छन् ।

बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा लैजान भू–माफियासँग मिलेर बस्न्यातले पनि सरकारी लिखत किर्ते गरेको आरोप छ । भूमिसुधार मन्त्रालयको सचिव हुँदा उनले ललिता निवाससम्बन्धी पटक–पटक पत्राचार र निर्णय गरेका थिए । लिखत किर्ते गरेको कसुरमा भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ र पूर्व निर्वाचन आयुक्त सुधीर शाहसहित

४ जनालाई सिआईबीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । बस्न्यातविरुद्ध यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । सर्वोच्च अदालतको आदेशले २०७८ वैशाख २४ मा उनी ५ लाख धरौटीमा रिहा भएका हुन् ।

विशेष अदालतको आदेशले डिल्लीबजार कारागारमा थुनामा रहेका बन्स्यातको निवेदनका आधारमा सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले उनी थुनामुक्त भएका थिए । मुटुरोगी भएको र कोरोना जोखिमका कारण भन्दै उनले बन्दी प्रत्यक्षीकरण रिट दायर गरेका थिए । ललिता निवास प्रकरणमा अदालतबाट ४०६ जनाविरुद्ध पक्राउ अनुमति जारी भएको छ । तीमध्ये १७ जनाले सर्वोच्च अदालतबाट ‘स्टे अर्डर’ लिएका छन् ।

Ads

सम्बन्धित पोष्टहरू