Ads

एसीसी इस्ट जोन कप क्रिकेटमा नेपालले सिंगापुरलाई दियो १ सय ८५ रनको लक्ष्य


काठमाडौं । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा नेपालले सिंगापुरलाई १ सय ८५ रनको लक्ष्य दिएको छ । मलेसियामा भइरहेको प्रतियोगितामा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरको खेलमा ९ विकेट गुमाई १ सय ८४ रन बनाएको हो । सूर्यांशु कोइराला र निरज यादवले १२ ओभर भित्र ६३ रन जोडेर नेपाललाई राम्रो सुरुवात दिलाएका थिए ।

सूर्यांशु आउट भएपछि यो साझेदारी टुटेको थियो । उनले ४९ बल खेल्दै ६ चौका प्रहार गरी ४३ रन बनाए । निरजले ४२ रन जोड्ने क्रममा ४९ बल खेली ३ चौका र १ छक्का प्रहार गरे । आशिष लुहार ६, नरेन भट्ट ३, प्रतीक भट्टराई १२ रनमा आउट भएपछि नेपाल दबाबमा परेको थियो । सन्तोष यादवले २४ बल खेल्दै २ चौकासहित १८ रन बनाए ।

अशोक धामी पहिलो बलमै आउट भएपछि कप्तान अभिषेक तिवारी र दीप भुजेलले आठौं विकेटमा ३९ रनको महत्त्वपूर्ण साझेदारी गरे । अभिषेकले २१ बल खेली समान १ चौका र छक्का प्रहार गर्दै २५ रन बनाए । दीप १५ बलमा १२ रन बनाई अविजित रहे । कृतिक कामत अन्तिम ओभरमा १० रन बनाई अविजित रहे । उनले ५ बल खेली १ चौका प्रहार गरे ।

प्रतीक पोखरेल २ बल खेली ३ रन बनाई अविजित रहे । सिंगापुरबाट हरिहरनले ३ विकेट लिए । उनले ७ ओभरमा ३१ रन खर्चे । हर्ष वेंकटराम र कविर बेरिलाले २–२ विकेट लिए । नेपाले थाइल्यान्ड र मलेसियालाई पराजित गरी समूह ‘ए’ को विजेता बनेर सेमिफाइनलमा पुगेको थियो । माल्दिभ्स र इन्डोनेसियामाथि विजय हात पारेको सिंगापुर अन्तिम खेलमा हङकङसँग पराजित भएपछि समूह ‘बी’ को उपविजेता बनेको थियो ।

Ads

सम्बन्धित पोष्टहरू