काठमाडौं । काठमाडौं महानगरपालिकाले हनुमानढोका क्षेत्रमा सवारी साधनको प्रवेशमा रोक लगाएको छ । महानगरका मेयर बालेन्द्र साहले सामाजिक सञ्जाल मार्फत उक्त कुराको जानकारी दिएका हुन् ।
मंगलबार बिहान सामाजिक सञ्जालमा लेख्दै मेयर साहले हनुमानढोकाको मौलिकता, सौन्दर्य र परिसरको वातावरण शान्त, स्वच्छ र सुरम्य हुन अत्यावश्यक भएकोले सवारी साधनको प्रवेशलाई निषेध गरिएको जानकारी दिएका छन् । बसन्तपुर–हनुमानढोका परिसरभित्र सवारी साधनको प्रवेशमा रोक लगाइएको उनको भनाइ रहेको छ ।
मेयर साह ले ख्छन्– ‘काठमाडौ मुख्यरुपमा प्राचिन र ऐतिहासिक कालीगढीको उदाहरण हो । काठमाडौको पहिचान भनेकै यहाँका सम्पदाहरु हुन् । विश्वलाई गौरवसाथ देखाउन सक्ने, हामीले शानसँग व्यवसायीकता अंगाल्न सक्ने भनेकै यीनै सम्पदा र यीनको प्राचीन मौलिकता पनि हुन् । यहि हेर्न, अनुभव गर्न र रमाउन लाखौँ पर्यटकहरु आउन सक्छन् ।’
यसका साथै साह अगाडि लेख्छन्– ‘वसन्तपुर हनुमानढोका यसमध्येकै एक हो, जहाँ दिनमा हजारौँ पर्यटकहरु आउने र लाखौँ आउन सक्ने सम्भावना छ । यीनीहरुको मौलिकता, सौन्दर्य र परिसरको वातावरण शान्त, स्वच्छ र सुरम्य हुन अत्यावश्यक छ । यसैले हनुमानढोका परिसर भित्र सवारी साधनहरुलाई निषेध गरिएको छ ।’

प्रतिक्रिया दिनुहोस्