Ads

बोलिका कारण पद गुमाउनेहरु


पछिल्लो समय प्रधानमन्त्री पुष्पकमल दाहालको अभिव्यक्ति पछि विकशित राजनीतिक घट्नाक्रम बहसको मुख्य विषय बनेको छ । दाहालले आफुलाई प्रधानमन्त्री बनाउन भारतीय नेता, उनीहरु निकट व्यक्ति र दलहरु लागि परेको बताए पछि उनी गम्भिर रुपमा विवादमा तानिएका हुन् । उनको सोहि अभिव्यक्तिका कारण संघीय संसदका दुवै सदन अवरुद्ध छन् । प्रमुख सहितका प्रतिपक्षीहरुले राजीनामा माग गरि रहेका छन् भने सत्तागठवन्धनले राजीनामा नदिने अडान सहितको निर्णय गरेको छ ।

प्रधानमन्त्रीले आफ्नो वचनकै कारण राजीनामा देलान्–नदेलानब् तर यस अघि वचनकै कारण विवादमा परेर पद गुमाएका मन्त्रीहरु भने प्रशस्तै छन् । ‘सोचेर बोल्ने भन्दा बोलेर सोच्ने’ प्रवृतिका कारण विगतमा भएका यस्ता घटनाका उदाहरण यहाँ उल्लेख गरिएको छ ः

सेना विरुद्ध बोल्दा मातृकाको विदाई

सशष्त्र द्वन्द्वको समाप्ति पछि माओवादी नेताहरुमा रहेको उघ्रक्रान्तिकारी शैलीका कारण शुरुमै एक मन्त्रीको विदाई भयो । २०६३ माघ १ मा अन्तरिम संविधान जारी भएपछि चैत १८ मा माओवादी पनि तत्कालीन सरकारमा सहभागी भएको थियो । माओवादीका तर्फबाट वन तथा भूसंरक्षण मन्त्री मातृकाप्रसाद यादव बनेका थिए । तर, उनी साउन १७ मै बाहिरिनुको कारण थियो सेना विरुद्धको अभिव्यक्ति । एक अन्तर्राष्ट्रिय सम्मेलनमा नेपाली सेना प्रकृति संरक्षण विरोधी रहेको बताएपछि रक्षामन्त्री समेत रहेका तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग उनको विवाद बढ्यो ।

प्रधानमन्त्री कोइरालाले यादवसँग उनको अभिव्यक्तिको विषयमा स्पष्टीकरण मागे पनि बरु यादव मन्त्रिपरिषद्को बैठकनै बहिष्कार गर्न तयार भए । प्रधानमन्त्रीसँग विवाद बढ्दै गए पछि उनको पद लामो टिक्न सकेन । त्यसअघि उनले ललितपुरका स्थानीय विकास अधिकारीलाई मन्त्रालयको ट्वाइलेटमा थुनिदिएका पनि थिए ।

 

मधेश टुक्रिन्छ भने पछि हटाईएका शरतसिंह

२०६८ सालको असोजमा तत्कालिन रक्षामन्त्री एवं मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका नेता शरतसिंह भण्डारी पदमुक्त भएका थिए । राजनीतिक कारणले भन्दा पनि आफ्नो अभिव्यक्तिकै कारण उनलाई सरकारबाट फिर्ता बोलाउन उनकै पार्टी बाध्य हुनु परेको थियो । उनले तराईलाई विभेद कायमै गरिए २२ जिल्लाले निर्णय गरे नेपालबाट अलग हुन सक्ने अभिव्यक्ति दिए पछि उनलाई त्यसको प्रष्टिकरण दिन हम्ये हम्ये परेको थियो । उनले जतिनै प्रष्टिकरण दिए पनि उनी पदमा रहन सकेनन् । आफ्नै दलको सिफारिसमा प्रधानमन्त्री बाबुराम भट्टराईले उनलाई हटाउनु परेको थियो । त्यस बेला पनि तत्कालिन प्रतिपक्षी नेपाली कांग्रेस र एमालेले संसद लगातार अवरुद्ध गरेका थिए ।

 

अध्यक्ष विरुद्ध बोल्दा दिलनाथको पद चैट

मिलाएर बोल्न नजान्दा भनौ वा आफ्नै नेता विरुद्ध बोलि नमिले पछि भनौ, २०७४ सालमा पनि एक मन्त्रीको पद गयो । पार्टीको आन्तरिक विवादका कारण तत्कालीन राप्रपा नेपालबाट सहरी विकास मन्त्री बनेका दिलनाथ गिरीले पदमुक्त हुनुपरेको थियो । उनले आफ्ना पार्टी अध्यक्ष तथा तत्कालिन उपप्रधानमन्त्री कमल थापालाई निरङ्कुश भनेर आरोप लगाएका थिए । एक जना सचिव परिवर्तनको विषयमा अध्यक्षसँगको विवादका कारण उनी हुँदा छँदाको पद गुमाउन पुगेका थिए । उनलाई पार्टी अध्यक्षको पत्रकै आधारमा २०७४ पुस १७ मा प्रधानमन्त्री शेरबहादुर देउवाले बर्खास्त गरेका थिए ।

 

माफि माग्दा पनि नथामिएका तामाङ्

२०७५ सालको साउनमा तत्कालिन कानूनमन्त्री शेरबहादुर तामाङ्ले पदबाट राजीनामा दिँदा वातावरण निक्कै भावुक बनेको थियो । बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राहरुबारे दिएको अभिव्यक्ति विवादमा परेपछि तामाङ् राजीनामा दिन बाध्य पारिएका थिए ।
आफ्नो वोली विवादमा परे पछि उनले राजीनामा दिनु अघि दुई पेज लामो माफि पत्र पनि सार्वजनिक गरेका थिए । तर पनि उनको पद थामिएन् । त्यस बेला मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा राजीनामा घोषणा गर्दा तामाङ निकै भावुक भएका थिए । जनतालाई शिरमा राखेर काम गरेको तर, आफ्ना कमजोरीलाई नै मुख्य मुद्दा बनाएर प्रचार गरिएको भन्दै उनले दुःख व्यक्त गर्दै राजीनामा दिनु परेको थियो ।

माफी पत्र मार्फत उनले आफूले नेपाली विद्यार्थीहरुले भोग्नु परेको समस्याहरुलाई उजागर गरेको भन्दै विवादास्पद अभिव्यक्तिको बचाउ गरे । तर, आलोचना नरोकिएपछि यो मुद्दाले सरकार र पार्टीलाई बदनाम गर्ने भन्दै त्यस बेलाको सत्तारुढ दल नेकपाले कानूनमन्त्री तामाङलाई राजीनामा दिन निर्देशन दिएको थियो । आफ्नो बोली चिप्लिँदा उनको हुँदा छँदाको मन्त्री पद पनि चिप्लिएको थियो ।

 

कार्यशैलीका कारण पद गुमाउनेहरु

वाकशैलीसँगै कार्यशैली मिलाउन नजान्दा पनि केहि मन्त्रीहरुको पद गुमेको छ । यसरी कार्यशैली मिलाउन नसक्ने मन्त्रीहरु भने प्रधानमन्त्री सुशिल कोईरालाको पालामा देखिए ।
कोइराला नेतृत्वको सरकारमा उर्जामन्त्री रहेकी राधा ज्ञवालीलाई सोलु करिडोर प्रसारण लाइन बनाउँदा अनियमितता गरेको आरोप लगाउँदै हटाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आग्रह गरेको थियो । कोइरालाले उनलाई राजीनामा दिन आग्रह पनि गरेका थिए । उनले नमानेपछि २०७२ असोज १४ मा बर्खास्तगीमा परेकी थिईन् ।

कोईराला नेतृत्वकै सरकारमा अख्तियारको पत्र पछि खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले पनि राजीनामा दिएका थिए । सुशील कोइराला नेतृत्वकै सरकारमा कृषिमन्त्री बनेका हरि पराजुलीले रोपाई जात्रामा अशिष्ट व्यभार गरेको भन्दै आलोचना भयोय । उनले २०७२ असार १५ मा काठमाडौंको मूलपानीमा धान दिवस मनाउँदा महिलामाथि अशिष्ट व्यवहार गरेको भिडियो सार्वजनिक भए पछि आलोचना बढ्दा सदनमै उनको व्यापक विरोध भयो र विवाद बढेपछि उनले राजीनामा दिएका थिए ।

यसै गरि २०६८ भदौ ११ गते गठित बाबुराम भट्टराई नेतृत्वको सरकारमा भूमिसुधार मन्त्री बनेका प्रभु साहले पनि विवादका कारण पद गुमाउनु परेको थियो । विश्व हिन्दू संघका अध्यक्ष काशीनाथ तिवारीको हत्याकाण्डमा मुछिएपछि भूमि सुधार मन्त्री साह विवादमा परेका थिए भने उनले असोज २९ मा प्रधानमन्त्री भट्टराईलाई राजीनामा बुझाएका थिए ।

Ads

सम्बन्धित पोष्टहरू