एजेन्सी
भारत । विवाह गर्नका लागि बेहुली नपाउँदा कतिपय युवाहरू अविवाहित बस्नुपरेको अवस्थामा भारतको हरियाणा सरकारले अविवाहित भत्ता दिने योजना ल्याएको छ ।
हरियाणाका मुख्यमन्त्री मनोहरलाल खट्टरले पत्रकार सम्मेलनमार्फत अविवाहित र विधुर भत्ता दिने घोषणा गरे । मासिक रूपमा २ हजार ७५० भारतीय रुपैयाँ अर्थात् ४ हजार ४०० नेपाली रुपैयाँ भत्ता पाइनेछ । यस्तो भत्ता सुविधा ४५ वर्ष उमेर पूरा भएपछि मात्रै पाइने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । विवाह हुन नसकेका र पत्नीको निधन भई एकल रहेका पुरुषले समेत यस्तो भत्ता पाउनेछन् ।
भत्ता पाउन सरकारले केही शर्त समेत राखेको छ । अविवाहितले यस्तो लाभ पाउन २ लाख ८० हजारसम्म मात्रै वार्षिक आय हुनुपर्नेछ। विधुरले वार्षिक ४ लाख ८० हजार रुपैयाँ मात्रै आम्दानी गर्ने हुनुपर्नेछ । रोचक त के छ भने हरियाणामा मुख्यमन्त्री खट्टर र गृहमन्त्री अनिल विज दुवै अविवाहित हुन् । हरियाणामा अविवाहितको संख्या ६५ हजार र विधुरको संख्या ५ हजार ६८७ रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । अविवाहित भत्ता योजनामा हरेक महिना ३२ करोड रुपैयाँ खर्च हुने जनाइएको छ ।
हरियाणामा महिलाको संख्या पुरुषको तुलनामा कम छ । त्यहाँ १ हजार पुरुषको तुलनामा महिला ८७७ मात्रै छन । देशभरको अनुपात हेर्दा १ हजार पुरुषमा ९४३ महिला छन् । पर्याप्त रोजगारीको अवसर नहुनु पनि विवाह नहुने कारणमा रहेको छ । बेरोजगार युवाहरू विवाहका लागि युवतीको रोजाइमा पर्दैनन् ।
प्रतिक्रिया दिनुहोस्