चितवन । जिल्लामा ५० प्रतिशत रोपाइँ भएको छ। समयमा पर्याप्त वर्षा नहुँदा रोपाइँ हुन नसकेको हो। कृषि ज्ञान केन्द्र चितवनका अनुसार जिल्लाका सात पालिकामा भएको धान रोपाइँ ५० प्रतिशत भएको छ।
केन्द्रका निमित्त कार्यालय प्रमुख मीनबहादुर पुनका अनुसार लामो समय खडेरी परेका कारण धान रोप्न समस्या भएको हो। सिँचाइको व्यवस्था भएका केही स्थानमा रोपाइँ भए पनि पानीको अभावका कारण रोपाइँ हुन नसकेको उनले बताए।
उनले भने, “गत वर्षको तुलनामा यस वर्ष कम क्षेत्रफलमा धान रोपाइँ भएको छ।” अघिल्लो वर्ष यही समयमा ७० प्रतिशत रोपाइँ सम्पन्न भएकोमा अहिले ५० प्रतिशत मात्र भएको उनले जानकारी दिए। पर्याप्त वर्षा भई पानीको मूल फुट्न नसक्दा रोपाइँ कम भएको उनको भनाइ छ । जिल्लामा २२ हजार नौ सय ७० हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुँदै आएको छ। यहाँसावा मन्सुली, सावित्री, रामधान, हाइब्रिड, राधाचारजस्ता धान जात रोपिँदै आइएको छ।
झापामा ५३ प्रतिशत रोपाइँ
धान खेतीका लागि उर्वरभूमि मानिने झापामा ५३ प्रतिशत रोपाइँ भइसकेको कृषि ज्ञानकेन्द्र झापाले जनाएको छ। कृषि ज्ञानकेन्द्रका सूचना अधिकारी गणेश शिवाकाटीका अनुसार गत वर्षको तुलनामा दुई प्रतिशत बढी रोपाइँ भएको हो। समयमै वर्षा सुरु भएको र किसानले पाउने मलमा समेत समस्या नभएका कारण गत वर्षको तुलनामा दुई प्रतिशत बढी रोपाइँ गर्न सकिएको उनले बताए।
झापामा यस वर्ष ८७ हजार पाँच सय हेक्टर क्षेत्रफलमा धान खेतीको तयारी छ। सोमध्ये ८० प्रतिशत खेती आकाशे पानीको भरमा हुने गरेको छ। हाल दैनिक वर्षा भइरहेकाले खोला पैनीमा समेत पानीको बहाव बढेका कारण किसानलाई रोपाइँका लागि पर्याप्त पानी पुगिरहेको उनको भनाइ छ।
प्रतिक्रिया दिनुहोस्