जनकपुर । केही समयअघिसम्म समसाँझै अध्याँरो र डरलाग्दो देखिने जनकपुरधाम उपमहानगरपालिका क्षेत्रका सडक यतिबेला भन्ने झिलीमिली देखिन थालिएकोे छ । जनकपुरधाम उपमहानगरपालिकाले उज्यालो नगर बनाउने योजनाका साथ मुख्य सडक र गल्लीका खम्बाखम्बामा हाइमास तथा सेन्सर लाइट बत्ती जडान गरेपछि जनकपुरधाम नगरक्षेत्र झिलीमिली बनेको हो ।
“केही महिनाअघिसम्म साँझ पर्नेबित्तिकै सडक अध्याँरो हुने र हिँड्डुल गर्न नसक्ने स्थिति थियो”, जनकपुरधाम उपमहानगरपालिका–१ का रोशन महतोले भने, “तर अहिले रातिका समय जतिबेला पनि नगरक्षेत्रका सडक उज्यालो हुन्छ, जसका कारण हामी सुरक्षित महसुस गरिरहेका छौँ ।” उपमहानगरपालिकाले खम्बाखम्बामा जडान गरेको बत्तीले आफूहरुको बस्ती नै उज्यालो बनेको उनले बताएका छन् ।
“पहिलापहिला सडक छेउका अधिकांश खम्बामा बत्ती थिएन्”, जनकपुरधाम उपमहानगरपालिका–४ का सहदेव साहले भने, “जडान भएका बत्ती पनि कतिपय बल्ने स्थितिमा थिएन, जसले गर्दा यस क्षेत्रका सडकमा साँझ पनि हिँडडुल गर्न समस्या भइरहेको थियो ।” अब अहिले निर्धक्क भएर २४ सैँ घण्टा सडकमा हिँड्दा पनि कुनै समस्या छैन, उनको भनाई रहेको छ । “विगतका वर्षमा साँझ र रातिका समयमा सडक अध्याँरो हुँदा चोरी, लुटपाटजस्ता आपराधिक घटना हुने गरेको थियो”, उनले भने, “अहिले नगरक्षेत्रमा त्यस्ता आपराधिक घटनामा समेत ह्वातै कमी आएको छ, जसले गर्दा हामी सुरक्षित महसुस गरिरहेका छौं ।” यसबाहेक खम्बाको बत्तीले नगरक्षेत्र नै झिलीमिली बनेको उनको भनाइ थियो ।
उपमहानगरपालिकाले एकपछि अर्को लोकप्रिय योजना ल्याएर कार्यान्वयन गर्ने गरेकाले छोटो समयमै जनकपुरधाम उपमहानगरपालिकाले मुहार फेर्न लागेको स्थानीयवासी बताउँछन् । उपमहानगरपालिकाले गत आर्थिक वर्ष २०७७/०७८ देखि उज्यालो जनकपुरधाम अभियानअन्तर्गत सडक तथा गल्लीका खम्बामा बत्ती जडानलाई तीव्रता दिएको उपमहानगरपालिकाका योजना शाखा प्रमुख वरिष्ठ इञ्जिनीयर वीरेन्द्रकुमार यादवले जानकारी दिए । त्यही योजनाअनुसार नगरक्षेत्रका सडक र गल्लीमा ६७३ सेन्सर लाइट जडान गर्ने लक्ष्य रहेकोमा हालसम्म करिब ६० प्रतिशत लाइट जडान गरिसकेको र बाँकीमा जडान कार्य भइरहेको वरिष्ठ इञ्जिनीयर यादवले बर्ताए ।
जनप्रतिनिधि र कर्मचारीबीचको तालमेलका कारण छोटो समयमै नगरक्षेत्रमा थुप्रै परिवर्तन ल्याउन सफल भएको जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहले बताए ।
“आफू निर्वाचित भएदेखि चार वर्षको अवधिमा उपमहानगरपालिकामा धेरै परिवर्तन भएको छ”, उनले भने, “४०÷५० किलोमिटर सडक बिस्तार, फोहर व्यवस्थापन, ट्राफिक व्यवस्थापन, मन्दिरसम्म जाने सहज र फराकिलो बाटो निर्माण, ग्रामीण क्षेत्रका वडामा खुला नालामुक्त अभियान चलाएर ८० प्रतिशत क्षेत्रमा अन्डरग्राउण्ड नाला बनाएर पिसिसी ढलान गरेका छौँ ।” जनकपुरधामको मूल प्रवेशद्वार जलेश्वर भिट्ठामोड, जटही, कदम चोक, धुनुषा पथ, कुर्था, कपलेश्वर मौआहा, सीता चोक, भ्रमपुरालगायत स्थानबाट प्रवेश गर्ने सडकमा निर्माण ठेकेदारसँगको समन्वयमा नौ इञ्चको ठूलो चेचिस गाडी सहज प्रवेश गर्न र निस्किन सकिने १६ मिटर चौडाको सडक बिस्तार गरिएको नगरप्रमुख साहको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्