झापा\ झापाको दमकमा भारतीय नागरिकहरूलाई नागरिकता निकालिदिन्छु भनेर रकम उठाउने एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा भारत विहार राज्य दरवंगा जिल्ला अलिनगर ग्राम पञ्चायत घर भई हाल दमक १ मा डेरा गरि बस्दैआएका २७ वर्षीय मुकेश ठाकुर रहेका छन् । उनलाई पक्राउ गरेर ठगी मुद्दा चलाएको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख दुर्गा रेग्मीले जानकारी दिए। ठाकुरले तीन जना भारतीय नागरिकहरूलाई नागरिकता निकालिदिने भनेर जनही एक लाख रुपियाँ उठाएको प्रहरीको दावी छ ।
नेपाल नागरिकता ऐन, २०७९ (पहिलो संशोधन )जारी भएपछि जन्मको आधारमा नागरिकता प्राप्त गरेका व्यक्तिका सन्तानलाई नागरिकता वितरण सुरु भएपछि ठाकुरले भारतीय नागरिकहरूबाट र नागरिकता बनाउन अति आवश्यक कागजपत्र मिलाउन नसकेकाहरूबाट पैसा उठाउने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको पनि रेग्मी जनाए ।
प्रहरीका अनुसार ठाकुरले पैसा उठाए पनि नागरिकता निस्कने अवस्था नदेखेपछि ठगिएकाहरूले नै प्रहरीलाई सूचना दिएपछि यो विषय बाहिर आएको प्रहरीको भनाइ छ । २०७२ साल असोज ३ गतेभन्दा अगाडी जन्मको आधारमा नेपालको नागरिकता प्राप्त गरेको नागरिकको सन्तानले बाबु र आमा दुवै नेपालको नागरिक रहेछन् भने र उसको उमेर १६ वर्ष पूरा भएपछि वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्ने अवस्था छ । त्यसका लागि तोकिएका कागजपत्र तथा प्रमाण पेस गर्नुपर्ने हुन्छ ।
नागरिकताका लागि सिफारिस लिनका लागि दमकका वडा कार्यालयहरू र नागरिकता वितरण गर्ने इलाका प्रशासन कार्यालय दमकमा भिड लाग्दै आएको छ । कहिल्यै नदेखेका र यहाँ नबसेकाहरू समेत नागरिकता पाइन्छ भनेर आएको थाहा पाएपछि सिफारिस दिन कडाइ गरिएको दमक ७ का वडाध्यक्ष भिमप्रसाद पौडेलले बताए । “हामीले कहिल्यै नदेखेकाहरू पनि यही बसोबास छ भन्दै आएको पनि पाइयो”, ती वडाध्यक्षले भने ।
जन्मको आधारमा नागरिकता प्राप्त गरेका व्यक्तिका सन्तानलाई नागरिकता वितरण सुरु भएपछि जिल्ला प्रशासन कार्यालय झापाले भिड थेग्न नसकेर टोकन प्रणाली लागु गरेर नागरिकता वितरण गर्दै आएको छ । भदौ महिनासम्मको लागि अहिल्यै नै टोकन वितरण भइसकेको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ ।
नागरिकता लिन खोज्ने नक्कली बाबुछोरा पक्राउ
नक्कली बाबु–छोरा बनेर नागरिकता लिन खोज्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सूर्योदय नगरपालिका –५ का चेतन गजमेर, भुवनसिंह गजमेर रहेका छन् ।चेतनले २०६३ माघ २९ गते जन्मका आधारमा नागरिकता लिएका भुवनसिंहको छोरा बनेर सीमा प्रशासन कार्यालयमा अनुसूचीसहितको सिफारिस पेस गरेका थिए । तर, सूर्योदय नगरपालिका वडा –५ ले चेतन भुवनसिंहको छोरा नभएको जानकारी आएको भन्दै अनुसन्धान गर्न सीमा प्रशासन कार्यालयलाई पत्राचार गरेको थियो ।
वडा कार्यालयको पत्रपछि सीमा प्रशासनले अनुसन्धान गर्दा भुवनसिंहको छोरा चेतन नभएको खुलेपछि उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ । पक्राउ परेका दुवैलाई इलाका प्रहरी कार्यालय पशुपतिनगरमा राखेर अनुसन्धान भइरहेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्