Ads

पार्टीमा उमेरहद राख्नु अवैज्ञानिक र अराजनीतिक कुरा हाे, हटाउनु पर्छ: ओली


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई बुढा भनेर आक्रमण गर्नेलाइ म्याराथनको निम्तो दिऊँजस्तो लाग्ने बताएका छन्।

आफूलाई बुढा भनेर आक्रमण गर्नेहरूलाई कहिलेकाहिँ म्याराथनका लागि निम्तो दिऊँ कि जस्तो लाग्ने बताएका हुन ।

पार्टीको बागमती प्रदेश कमिटीको बैठकलाई मंगलबार सम्बोधन गर्दै ओलीले पार्टीमा ७० वर्षे उमेरहद राख्नु अवैज्ञानिक र अराजनीतिक कुरा रहेको भन्दै त्यसलाई हटाउनुपर्ने बताएका हुन्।

‘बुढा भनेर आक्रमण गरेको ८० वर्ष पुगेका अमेरिकी राष्ट्रपति जो बाइडेनलाई होइन, कांग्रेसका सभापति शेरबहादुर देउवालाई होइन, म भन्दा एक वर्ष जेठो भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीमाथि पनि होइन, एउटा केपी ओलीलाई ताकेको हो ।’ उनले भने, ‘त्यस्तो कुरा गर्नेहरूलाई कहिलेकाहिँ म्याराथनका लागि निम्तो दिऊँ कि जस्तो लाग्छ। आउन त दौडिहेरौं एक फेर भन्न मन लाग्छ।’

उनले पार्टीमा ७० वर्षे उमेरहद राख्नु अवैज्ञानिक र अराजनीतिक कुरा रहेको भन्दै त्यसलाई हटाउनुपर्ने बताए।

‘उमेर वैज्ञानिक कुरा होइन, कुनै पार्टीले राखेको छैन। साइप्रसको पार्टीले राखेको थियो पहिला त्यसले पनि हटाइसक्यो। काम गरिरहेको मान्छे ७० पुग्यो भनेर कमिटीमा बस्न नपाउने भन्नु गलत हो।’ ओलीले भने, ‘म जिन्दगीभर विरामी भएको, दुःख पाएको, जेलनेल भोगेको मान्छे त कसैले ललकार्‍यो भने अहिले पनि भिड्न सक्छुजस्तो हुन्छ। स्वस्थ रहेका मान्छेको ७० वर्ष भनेको त के उमेर हो र! म यस्तो अप्रेशन गरेको, दुई पल्ट किड्नी ट्रान्सप्लान्ट गरेको मान्छे १८ घण्टा काम गरिरहेको छु । काम गर्न बाध छैन भने उमेर पुग्यो त्यसकारण कमिटीमा बस्नुहुँदैन भन्ने मान्छेलाई स्थिर बनाउने कुरा हो । यो अराजनीतिक कुरा हो ।’

एमालेले ७० वर्षे उमेरहदको प्रावधान अहिले निलम्बन गरेको छ। नेकपा एकीकृत समाजवादीबाट गएका मुकुन्द न्यौपानेलाई केन्द्रीय कमिटीमा ल्याउनका लागि निलम्बन गरिएको भने पनि ओली पहिले देखि नै यसको विपक्षमा छन्।

एमाले युवाहरूको मात्रै नभइ बालबालिका देखि ज्येष्ठ नागरिक सबैको आशीर्वाद र साथ सहयोग रहेको पार्टी भएको बताए। नयाँ खोलेका पार्टीहरुमा परिपक्व मान्छे नहुने उनको जिकिर छ।

‘भर्खर खोलेका पार्टीमा परिपक्व मान्छे कसरी लाग्छ र? भर्खर खोलेका पार्टीमा त युवाहरू त हुन्छन् नि ! ओलीले भने, ‘हाम्रो पार्टीमा सबै क्षेत्रका मानिस छन्। परिपक्व र परिपूर्ण पार्टी । सिंगे समाज समेटेको पार्टी हो ।’

Ads

सम्बन्धित पोष्टहरू