एजेन्सी
काठमाडौँ । नोभाक जोकोभिच १२ औँ पटक विम्बल्डन टेनिसको सेमिफाइनल प्रवेश गरेका छन् । अल इंग्ल्यान्ड क्लबमा गएराति भएको क्वाटरफाइनलमा सर्वियाका साविक विजेता जोकोभिचले रुसका आन्द्रे रुबलेभमाथि चार सेटको पुनरागमन जित हात पारेका हुन् ।
विश्व नम्बर दुई जोकोभिच एक सेटले पछि परेको स्थितिबाट खेलमा फर्किएका हुन् । सातौँ वरीयताका रुबलेभले पहिलो सेट ६–४ ले जितेका थिए । तर रुबलेभले बाँकी सेटमा ३६ वर्षीय जोकोभिचलाई रोक्न सकेनन् । उनले दोस्रो सेट सहजै ६–१ ले जित्दै खेल ११ को बराबरी गरेका थिए । तेस्रो सेट ६–४ र चौथो सेट ६–३ ले आफ्नो पक्षमा पार्दै जोकोभिचले ४६ औँ ग्रान्डस्लामको अन्तिम चारमा स्थान सुरक्षित गरे ।
२३ पटकका ग्रान्डस्लाम च्याम्पियन जोकोभिचको विम्बल्डनमा यो ३३ औँ जित हो । लगातार पाँचौँ र समग्रमा आठौँ विम्बल्डन उपाधि जित्ने लक्ष्यमा रहेका उनले अब सेमिफाइनलमा इटालीका यानिक सिनरसंग प्रतिस्पर्धा गर्नेछन् । सिनर रुसका रोमान साफिउलिनलाई चार सेटमै हराउँदै पहिलो पटक ग्रान्डस्लामको सेमिफाइनल पुगेका हुन् । विम्बल्डनको अन्तिम चार पुग्ने तेस्रो इटालियन खेलाडी बन्ने क्रममा उनले रोमानलाई ६–४, ३–६, ६–२, ६–२ को सेटमा हराएका थिए ।
प्रतिक्रिया दिनुहोस्