Ads

लम्पी स्किनले देशभर २८ हजार बढी पशु मरे


काठमाडाैं । लम्पी स्किन रोगको प्रकोपले देशका ७६ वटा जिल्ला  प्रभावित छन् । मनाङ बाहेक हरेक जिल्लाका घरपालुवा पशुमा देखिएको यो रोग नियन्त्रणबाहिर गएको छ । पशु सेवा विभागकाअनुसार बुधबारसम्म यो रोगका कारण देशभर २८ हजार बढी चौपायाको मृत्यु भएको छ ।

अहिले रोगको प्रकोप देखिएको स्थानमा पशु चिकित्सकसहितको टोली परिचालन गरिएको विभागले जनाएकाे  छ। रोग प्रभावित गाईवस्तु लगायतका चौपायालाई खोप लगाउने काम पनि भइरहेको छ । विभागकाअनुसार यस बर्ष यो रोग देखापरेदेखि हालसम्म ७ लाख ८२ हजार १ सय २४ पशु संक्रमित भएका छन् । हाल २ लाख ३२ हजार ३ सय ९ चौपाया संक्रमित अवस्थामा रहेका छन् भने खोप लगाइएका पशुको संख्या २ लाख ५० हजार ७ सय ६६ छ ।

याे राेगलागेपछि  पशु चौपायामा ज्वरो आउने, सिङ्गान तथा र्याल बगाउने, शरीरमा गिर्खा आउने, खुर पाक्नेलगायत लक्षण देखिने गरेका छन् । त्यसले गर्दा पशुले दुध नदिने जस्तो लक्षणहरु देखिन थाल्छ । यो रोग झिङ्गा, मच्छड र किर्नाले टोकेमा वा दानापानी, चरन क्षेत्र र पशुको आपसमा संसर्गका माध्यमबाट फैलिने भएकाले सचेत रहन सबैमा अपिल गरिएको छ ।

रोग नियन्त्रण गर्न किसानले भुसुना, किरा र लामखुट्टे नियन्त्रणका लागि गोठको सरसफाइ, भकारो (पर्सो) व्यवस्थापन र चरन क्षेत्रको ख्याल गर्नुपर्ने जनाइएको छ । पशु सेवा विभागकी महानिर्देशक डा. सम्झनाकुमारी काफ्लेले प्रभावित चौपायामा खोपको कमी हुन नदिन विभाग सतर्क रहेको बताइन् ।

Ads

सम्बन्धित पोष्टहरू