दार्चुला । दार्चुलाको महाकाली नगरपालिका–९ दत्तु र भारतको बालुवाकोट जोड्ने झोलुङ्गे पुलको लठ्ठा चुडिँदा आवतजावत बन्द भएकाे छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाले साे स्थानबाट आवतजावत नगर्न सर्वसाधारणमा अनुरोध गरेको छ।
जिल्ला प्रशासन कार्यालय दार्चुलाले शुक्रबार एक सूचना जारी गर्दै प्राविधिक जाँचपछि मात्रै पुलमाथि आवतजावत गर्न आग्रह गरेको छ। “झोलुङ्गे पुलको भारततर्फ लठ्ठा भाँचिएको छ, पुलको मर्मतपछि मात्र आवागमन गर्न अनुरोध गरेका छौँ”, सहायक प्रमुख जिल्ला अधिकारी प्रदीपसिंह धामीले भने ।
यो नाकाबाट दैनिकरूपमा सयौँ स्थानीय आवातजावत गर्ने गर्दछन् । जिल्लाको महाकाली नगरपालिका, मालिकार्जुन, लेकम गाउँपालिका र शैल्यशिखर नगरपालिकाका अधिकांश बासिन्दा दैनिक उपभोग्य सामान किनमेलका लागि झोलुङ्गे पुलबाट भारतको बलुवाकोट जाने गरेका छन् । पुलमाथि आवतजावत बन्द भएपछि स्थानीयवासीलाई दैनिक उपभोग्य सामान किन्न समस्या परेको स्थानीय नारद विष्टले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्