Ads

मेयर बालेनका ७ काम, ३ नकाम


चुनाव जितेदेखि नै काठमाडौँका मेयर बालेन्द्र शाह चर्चामा छन्। कहिले उनको समर्थनमा लहर चलेको देखिन्छ, कहिले चर्को विरोध भइरहेको सुनिन्छ। हुन पनि उनले काठमाडौँको इतिहासमा नसोचिएको विजय हात पारेका थिए। नेपाली कांग्रेस, नेकपा एमालेजस्ता ठूला पार्टीका बलिया उम्मेदवारलाई उनी एक्लैले फराकिलो मतअन्तरले पराजित गरेका थिए। उनको विजयसँगै केही यथार्थहरु उजागर भएका थिए। उदाहरणका लागि, पुराना पार्टीहरुबाट जनता कति वाक्क भएका रहेछन् भन्ने स्पष्ट भयो। दोस्रो, आम सञ्चार र पत्रपत्रिकाले नपत्याएर धेरै स्थान नदिए पनि उनले चुनाव जिते। यसबाट सामाजिक सञ्जालको शक्ति देखियो।

र, चुनावमा उनले जसरी ‘चमत्कार’ देखाए, महानगरको कामकारबाही पनि सोही चमत्कारको आशा मतदातालाई हुन पुग्यो। यो चाहिँ बालेन आफ्नै लागि पनि ठूलो भारी बन्न पुगेको प्रतीत हुन्छ। किनभने उनको वास्तविक परीक्षा त चुनाव जितिसकेपछि सुरु भएको थियो। त्यसयता उनी दैनिक सोही परीक्षाबाट गुज्रिरहेका छन्।

अहिले सामाजिक सञ्जालमा मात्र होइन, सडकमा समेत बालेनको चर्चा र विरोध छ। हालै ठेला व्यापारीहरुमाथि महानगरले दुर्व्यवहार गरेकोमा उनीविरुद्ध माइतीघरमा प्रदर्शन पनि भयो। तर, सामाजिक सञ्जालमा उनको विरोध र समर्थन उनका कामको आधारमा नभई पक्षधरताका आधारमा ज्यादा हुने गरेको छ। दलगत आबद्धताका कारण उनलाई गाली गर्नेहरु पनि छन्। अर्कोतिर, बालेनले सीमा नाघ्दा पनि उनलाई सचेत गराउनुको सट्टा झनै उचाल्नेहरुको कमी छैन। त्यसैले निष्पक्ष रुपमा उनको कामको मूल्यांकन गरिन आवश्यक ठानेर यो आलेख तयार गरिएको हो।

बालेनले गरेका राम्रा काम के के हुन् त?

कार्यपालिका बैठकको प्रत्यक्ष प्रसारण
मेयर बालेनले सुरुमै गरेको निर्णय थियो, महानगर कार्यपालिका बैठकको प्रत्यक्ष प्रसारण। यसले जनप्रतिनिधिहरु बैठकमा के बोलिरहेका छन्, उनीहरुको प्राथमिकता केमा छ भन्ने विषय आम मतदातासम्म पुग्यो। जसको सबैले स्वागत गरे।

यो त्यतिबेला नौलो अभ्यास थियो। जसलाई अन्य पालिकाहरुले पनि पछ्याएको देखिन्छ।

सुरुवातमा मेयर र वडाध्यक्षहरुबीच केही मनमुटावजस्तो देखिए पनि पछि त्यो समस्या समाधान भएको देखिन्छ।

शौचालय
मेयरको कार्यभार सम्हालेको केही समयमै बालेनले सार्वजनिक शौचालयको विकराल समस्या समाधानको पहल थाले। उनले विभिन्न संघसंस्था, होटल, रेस्टुराँ लगायतसँग सहकार्य गरेर सार्वजनिक शौचालय व्यवस्थापन गरे।

यो सानो तर आधारभूत काम थियो। यसले महानगरका बासिन्दालाई ठूलो राहत पुग्यो। यद्यपि, पछिल्लो समय यो कार्यान्वयन नभएको र अझै पनि पर्याप्त मात्रामा शौचालय नबनेको गुनासा सुनिएका छन्।

पार्किङ
बालेनले गरेको अर्को सानो तर प्रभावकारी काम भनेको पार्किङ व्यवस्थापन हो। यसका लागि उनले अन्डरग्राउन्ड पार्किङस्थलमा बनाइएका पसलहरु हटाए। पार्किङका लागि अनुमति लिएर पसल चलाउनु आफैँमा गैरकानुनी काम थियो। उनले ती पसल हटाएका छन्। त्यहाँ बनेका संरचना पनि भत्काइदिएका छन्।

बालेनको यो कामले सहरलाई व्यवस्थित तुल्याउन निकै योगदान पुगेको छ।

नक्सापास नगरिएका संरचनामा डोजर
बालेनले नक्सापास नगरी बनाएका संरचनाहरु धमाधम भत्काइदिए। व्यवसायीहरुले अनेक नाममा फुटपाथ, सार्वजनिक जग्गा समेत कब्जा गरेका थिए। यसले एकातिर सहरलाई कुरुप त बनाएको थियो नै, अर्कोतिर पैदलयात्रुलाई पनि निकै दुःख दिएको थियो।

पटकपटक सूचना दिँदा पनि ती अवैध संरचना नहटेपछि उनी आफैँ डोजर लिएर मैदानमा उत्रिए। यो काममा उनले एकातिर व्यापक जनसमर्थन प्राप्त गरे भने अर्कोतिर ठूलो दबाबको सामना पनि गर्नुप¥यो। बानेश्वर, दरबारमार्गलगायतका स्थानका संरचना हटाउन उनले शक्तिशाली व्यक्ति तथा समूहसँग जुध्नुपरेको थियो।

कर
कतिपय व्यवसायले वर्षौंसम्म कर तिरेका थिएनन्। राजनीतिक तथा प्रशासनिक शक्तिको आडमा तिनले यस्तो हर्कत गर्दै आएका थिए। नेपालका प्रायः क्यासिनोले कर तिरेका थिएनन्। तर, बालेनले तिनलाई कर तिर्न बाध्य पारे। त्यसैगरी फनपार्कले पनि सात वर्षपछि मनोरञ्जन कर ति¥यो।

शिक्षामा सुधारको पहल
यतिञ्जेलको कामकारबाहीमा मेयर बालेनले गरेको सबैभन्दा महत्वपूर्णमध्ये एक काम हो– शिक्षा सुधारको पहल। त्यसका लागि उनले विद्यालय बन्द गर्न नपाइने नियम लागू गरेका छन्। कार्यकालको सुरुमै शिक्षक तथा कर्मचारीलाई दलीय आबद्धता त्याग्न निर्देशन दिएका उनले हाल कुनै पनि बहानामा पठनपाठन नरोक्न र रोके कारबाही गर्ने चेतावनी दिएका छन्।

त्यस्तै, महानगरले यही शैक्षिक सत्रदेखि ‘बुकफ्री फ्राइडे’ लागू गराएको छ। शुक्रबार विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलाप मात्र गराउने यसले उनीहरुको व्यक्तित्वको चौतर्फी विकासमा योगदान दिने अपेक्षा गरिएको छ।

त्यसैगरी, निजी स्कुलका शिक्षकहरुलाई पनि सामुदायिक सरह तलबको व्यवस्था गर्न उनले निर्देशन दिएका छन्। त्यति तलब नपाउने शिक्षकलाई महानगरमा सम्पर्क राख्न आग्रह गरेका छन्।

विद्यालय शिक्षाको गुणस्तर वृद्धि गर्न दैनिक अनुगमन र सरकारी विद्यालयका विद्यार्थीलाई दैनिक २५ रुपैयाँ बराबरको खाजा कार्यक्रम पनि लागू गरेका छन्।

स्वास्थ्य
मेयर बालेनले अस्पतालहरुको नियमनमा पनि केही प्रयास गरेको देखिन्छ। स्वास्थ्य संस्था सञ्चालन मापदण्ड २०७७ अनुसार विपन्न, असहाय र बेवारिसे बिरामीका लवागि १० प्रतिशत शय्या छुट्याउने व्यवस्था लागू गर्न निर्देशन दिएका छन्। त्यसको सूचना प्रत्येक महिनाको १० गतेभित्र नबुझाए कारबाही गर्ने चेतावनी उनले दिएका छन्।

त्यसपछि अस्पतालहरुले उपलब्ध शय्या संख्या सार्वजनिक गरेका छन्। त्यस्तै उनले सेवाग्राहीमैत्री सेवा प्रवाह गर्न, स्वास्थ्यकर्मी र कर्मचारीलाई न्यूनतम पारिश्रमिक दिन, फोहोरमैला व्यवस्थापन, क्यान्टिनको खानेकुराको गुणस्तर कायम गर्न निर्देशन दिएका छन्।

बालेनले गरेका यी काम अति ठूला र असम्भव काम होइनन्। खाद्यवस्तुको गुणस्तर परीक्षण, स्कुल अनुगमन, सहरको सौन्दर्यीकरणजस्ता साना काम उनले गरिरहेका छन्। यसअघिका मेयरहरुले सानो प्रयास पनि नगर्दा यी काम थाँती रहेका थिए। बालेनले हाल लिएको पहलले सकारात्मक प्रभाव पारेको छ।

तर, ‘बालेनको सहर’ मा सबैथोक राम्रो मात्र छैन। उनले केही यस्ता काम गरेका छन्, जुन नगरेको भए बालेनको लोकप्रियता अझ चुलिने थियो। के हुन् त उनले गरेका नकाम?

बेलागम बोली
अभिव्यक्तिका कारण दुःख पाउने नेपाली नेताहरुको सूची लामो छ। शीर्ष नेताहरु नै पनि यो रोगका पीडित हुन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड विवादमा परिरहने कारण बोली नै हो। एमाले अध्यक्ष केपी शर्मा ओलीले केही राम्रो काम गर्दागर्दै पनि छुद्र नेताको छवि बनाएका छन्। बालेन पनि यही रोगबाट ग्रस्त देखिन्छन्।

बालेनका धारणाहरु प्रायः सामाजिक सञ्जालबाट सार्वजनिक हुन्छन्। ती अभिव्यक्तिहरु पटकपटक विवादित पनि हुन्छन्। त्यसका केही उदाहरण हेरौँ।

गतवर्ष भदौमा धरानका मेयर हर्क साम्पाङसँग उनको फेसबुकमै जुहारी चल्यो। हर्कले आफू काठमाडौँ गएकाले फोहोर उठेको बताउँदा बालेनले ‘तपाईंकै लौरो चुनाव चिह्न लिएर मैले चुनाव पनि जितेको हो नि’ भनेर जवाफ दिए।

गत वैशाखमा बालेनले लेखे, ‘नयाँ पुरानो सबै नेताहरु चोर हुन्। कसैलाई देशको माया छैन।’

भारतीय चलचित्र आदिपुरुषसम्बन्धी विवादमा बालेनले आफ्नो फेसबुक पेजमा लेखेका छन्, ‘जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधीनताको आउँछ, म कुनै कानुन र अदालतलाई मान्नेवाला छैन।’

एक टेलिभिजन अन्तर्वार्तामा ‘हिटलरबाट सिक्ने कुरा’बारे उनले बोलेको क्लिप पनि अहिले सामाजिक सञ्जालमा देखिएको छ।

यी अभिव्यक्ति कति आवश्यक थिए? बालेनले यी कुराहरु नबोल्दा के फरक पर्थ्यो? त्यसले उनको बौद्धिकता र सोचको स्तर कस्तो देखाउँछ?

यी अभिव्यक्तिहरु हेर्दा बालेनले यी विषयहरुमा गहिरो अध्ययन नगरेको देखिन्छ। सामान्य व्यक्तिका लागि पनि अदालतको आदेश मान्दिनँ भन्ने अभिव्यक्ति सुहाउँदो होइन भने राजधानी सहरका मेयरका लागि त यो लज्जाको विषय हो। त्यसैले उनी अहिले अदालतको अवहेलनासम्बन्धी मुद्दा पनि खेपिरहेका छन्।

त्यसैले बालेनले अन्टसन्ट प्रश्न सोधिने मनोरञ्जनात्मक कार्यक्रमहरुको जाने र झोँक चलजेको बेला स्टाटस लेख्नुभन्दा कुनै निश्चित समयमा सार्वजनिक सुनुवाइ अथवा गम्भीर वैचारिक विमर्शहरुमा सहभागी हुनु उपयुक्त देखिन्छ।

नगरप्रहरीको ज्यादती
बालेनको जेजति आलोचना हुने गर्छ, त्यसको एउटा प्रमुख कारण नगरप्रहरीको ज्यादती बन्ने गरेको छ। नगरप्रहरीले गरिब ठेला व्यापारीहरुलाई घोक्र्याइमुन्ट्याइ गरेको, साइकल खोसेको, फलफूल बाटोभरि असरल्ल छरिदिएको, लात्ती बजारेको, घरभित्र पुगेर ठेला तानेको दृश्यलाई हेर्दा लाग्छ, कतै यो बर्बर सैनिक शासनको दृश्य त होइन?

तर, हालै अभद्र व्यवहार गर्ने १२ जना नगरप्रहरीलाई कारबाही गरिएको बताइएको छ। नगरप्रहरीको व्यवहार नसुध्रिने हो भने बालेनको छविमा अझ आँच आउने देखिन्छ।

लोकप्रियताको पछि दौडेको त होइन?
मबाहेक सबै देशघाती हुन् भन्ने सोच आफैँमा खतरनाक हो। यस्तो सोचले देशको ठेक्का निश्चित व्यक्तिको काँधमा छ, अरुलाई आफ्नो देशको माया छैन भन्ने संकथन स्थापित गर्छ। जहाँ यस्तो सोच व्याप्त हुन्छ, त्यो मुलुक अवश्य कमजोर हुन्छ।

मेयर बालेनका केही अभिव्यक्ति र कामकारबाहीलाई हेर्दा उनी कतै यस्तै सोचबाट निर्देशित त छैनन् भन्ने भान हुन्छ। उदाहरणका लागि बलिउड फिल्म आदिपुरुषको प्रदर्शन रोक्न र भारतीय संसदको कथित ‘सांस्कृतिक नक्सा’ को जवाफमा ग्रेटर नेपालको नक्सा टाँस्न उनले देखाएको तदारुकतालाई लिन सकिन्छ।

नेपालमा अर्को समुदाय, जाति वा पार्टीलाई कम राष्ट्रवादी देखाएर आफू पक्का राष्ट्रवादी बन्नेहरुको संख्या पर्याप्त मात्रामा छ। बालेन त्यो लाममा उभिन आवश्यक छैन। नयाँ हुँ भनेर आएपछि उनले पुराना राजनीतिक दलहरुको यो शैली किन पछ्याइरहेको?

कतिपयले उनलाई काम गर्न नसकेपछि स्टन्टबाजी गर्न थालेको आरोप पनि लगाएका छन्। केहीले बालेन र उनका राजनीतिक अडानहरुमा लोकतन्त्रविरोधी र पपुलिस्ट चरित्रको छाया देख्छन्। तर, एक कार्यकाल पनि पूरा नगरेको मेयरलाई यस्ता ‘जार्गन’हरुको भारीले थिच्नु न्यायोचित नहुन सक्छ। त्यसैले उनलाई कुनै वैचारिक आक्षेपले डाम्नुभन्दा यस्ता विषयमा गहन चिन्तन र विमर्श गर्न आग्रह गर्नु उचित होला।

Ads

सम्बन्धित पोष्टहरू