Ads

लम्पी स्किनविरुद्ध पशुमा खोप लगाइँदै


काठमाडौं । पशुमा महामारीका रुपमा फैलिएको लम्पी स्किन रोगविरुद्ध जिल्लामा धमाधम खोप कार्यक्रम सञ्चालन भएको छ । महामारी फैलिदासम्म खोप खरिदका लागि बजेट अभावले काम सुरु नभएकामा असार अन्तिम सातादेखि पशुमा खोप लगाउन सुरु गरिएको हो । पोखरा महानगरपालिका र चार गाउँपालिका रहेको कास्कीमा सबै पालिकामा गरी हालसम्म १२ हजार आठ सय ५० गाई, भैँसी र गोरुलाई लम्पी स्किनको खोप लगाइएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कास्कीले जनाएको छ ।

केन्द्रका प्रमुख वरिष्ठ पशु विकास अधिकृत शम्भुराज पाण्डेले सुरुआतमा बजेट अभावमा खोप खरिद गर्न नसकिएको बताउनुभयो । उहाँले भने, “अन्य रोगको खोप कार्यक्रम सञ्चालन भए पनि लम्पीका लागि बजेट र खोपको व्यवस्था थिएन । असारको अन्तिम साता आएर बल्ल बजेट व्यवस्था भए पनि खोप खरीद गरेर खोप कार्यक्रम सुरु गरेका हौँ ।”महामारी फैलिँदै जाँदा कतिपय व्यावसायिक फार्महरुले आफैँले खोप किनेर समेत पशुमा लगाएका थिए ।

प्रदेश सरकारले लम्पी स्किनविरुद्धको खोपका लागि रु १० लाख बजेट जिल्लास्थित भेटेरिनरी अस्पतालमा पठाएको थियो । जिल्लामा हालसम्म १३ हजार तीन सय सात गाई गोरु र तीन सय ३१ भैँसी पशु लम्पी स्किनबाट सङ्क्रमित भएकामा चार सय २९ को गाई गोरुको मृत्यु भएको छ । भैँसी भने सङ्क्रमबाट मरेका छैनन् । पोखरा महानगरपालिकामा सबैभन्दा बढी पशु सङ्क्रमित छन् । पोखरामा १० हजार दुई सय ४२ गाई गोरु र दुई सय ७१ भैँसी सङ्क्रमित भएको केन्द्रका पशु विकास अधिकृत सहदेव पौडेलले जानकारी दिए ।

माछापुच्छे्र गाउँपालिकामा एक सय ५० गाई गोरु र १२ भैँसी, अन्नपूर्णमा गाई दुई सय १९ र भैँसी सात, रुपामा एक हजार सात सय ८२ गाई र गोरु तथा एक भैँसी र मादीमा नौ सय १४ गाई र ४७ भैँसी लम्पीबाट सङ्क्रमित भएको कार्यालयले जनाएको छ । हालसम्म पोखरा महानगरमा छ हजार पाँच सय, माछापुच्छे्रमा तीन हजार छ सय, अन्नपूर्णमा एक हजार चार सय ५० र रुपामा एक हजार तीन सय गाई, भैँसीमा खोप लगाइएको पौडेलले बताए ।

लम्पी स्किन गाई भैँसीलाई हुने सङ्क्रामक रोग हो । लामखुट्टे, टोक्ने झिँगा र किर्नाजस्ता कीराको टोकाइबाट यो रोग सर्ने गरेको पशु स्वास्थ्य प्राविधिकको भनाइ छ । गर्मीयाममा लामखुट्टे र किर्ना आदिको सङ्ख्या बढ्ने र ती कीरा बढी सक्रिय हुने भएकाले यसको प्रकोप अझ बढी देखिन्छ ।रोगबाट सङ्क्रमित गाईभैँसीको दूध उत्पादनमा तीव्र गिरावट आउनुका साथै उच्च ज्वरो आउने, तौल घट्ने र कहिलेकाहीँ मृत्यु पनि हुनसक्छ ।

Ads

सम्बन्धित पोष्टहरू